प्राय: हामी सबै व्यक्तिले दैनिक ८-१० घण्टा तथा आफ्नो जीवनको ठूलो हिस्सा कृषि, उद्योग, वित्तीय संस्था, शैक्षिक संस्था, स्वास्थ्य संस्था, प्रहरी प्रशासन, सुरक्षा निकाय, कलकारखाना, सरकारी तथा गैर सरकारी संघ/संस्था आदि जस्ता कार्यस्थलमा काम गरेर बिताउने गर्दछौं ।
कार्यस्थलको वातावरणले त्यहाँ काम गर्ने व्यक्तिको शारीरिक एवं मानसिक स्वास्थ्यमा असर पारिरहेको हुन्छ । यस विषयमा त्यति ध्यान दिइएको पाइँदैन । त्यसो त अझै पनि हाम्रो समाजमा मानसिक स्वास्थ्यप्रति व्यक्तिको बुझाई, धारणा, सोच सकारात्मक हुन सकेको छैन ।
मानसिक स्वास्थ्यलाई कलंकको रुपमा हेरिन्छ । मानसिक स्वास्थ्य समस्यालाई लुकाउने, भन्न, उपचारको खोजी गर्न डराउने, अप्ठ्यारो मान्ने गरेको पाइन्छ । आफ्नो समस्या भन्दा सहयोग पाउनुको सट्टा साथीभाइ, सहकर्मीबाट अपमानित भएको, आफ्नो कामबाट हात धुनु परेका उदाहरण पनि प्रशस्त भेटिन्छन् ।
कामदार, कर्मचारी, मजदुरको मानसिक स्वास्थ्य सबल नहुँदा उनीहरुको काम गर्ने क्षमतामा कमी आउने, काम गर्न मन नलाग्ने, विदामा मात्र बस्न खोज्ने वा जागिर छोड्ने, अनुपस्थित रहने, दुर्घटनामा पर्ने, जाँड रक्सिको कुलतमा फस्ने, रिसाउने, झगडालु हुने, सेवाग्राहीसँग राम्रो व्यवहार नगर्ने, झकर्ने जस्ता लक्षणहरु देखाउने गर्दछन् ।
हाम्रो समाजमा कामलाई त्यति धेरै सम्मान गरेको पाइँदैन । उसले गर्ने काम र उसको पदको आधारमा व्यक्तिलाई हेर्ने दृष्टिकोण फरक-फरक हुन्छ । सानो जात/ठूलो जात भनेर उसले गर्ने कामकै आधारमा जातको समेत वर्गीकरण गरिएको छ ।
लुगा सिउने, जुत्ता सिउने, फलामको काम गर्ने, व्यक्तिहरुलाई अछूतको व्यवहार गरिन्छ । यस्तो व्यवहारले पक्कै पनि उनीहरुको आत्म सम्मानमा चोट पुग्छ । काममा तनाव र निराशा बढाउँछ । उनीहरुको मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने गर्दछ ।
कार्यस्थलमा मानसिक समस्या
विश्व मानसिक स्वास्थ्य संघका अनुसार कलकारखाना तथा विभिन्न कार्यालयहरुमा काम गर्ने व्यक्ति मध्ये पाँच जनामा एक जनालाई कुनै न कुनै मानसिक समस्या हुने गरेको पाइएको छ ।
रोजगारीमा रहेका धेरै व्यक्तिहरुलाई हुने मानसिक स्वास्थ्य समस्या भनेको तनाव, एन्जाइटि र उदासिनता नै हो । तर, पनि कामदारमा देखिएको मानसिक समस्याको उपचार पचास प्रतिशत मात्र पाउने गरेको देखिन्छ ।
कार्यस्थलमा मानसिक तनाव बढ्नु तथा मानसिक स्वास्थ्य समस्या देखा पर्नुका पछाडि धेरै कारक तत्वहरु हुन सक्छन् । कार्यस्थलमा हुने बुलिङ र हेरेस्मेन्ट, हाकिम तथा व्यवस्थापनले गर्ने व्यवहार, कामको प्रकृति, महिला पुरुषबीच एउटै कामको ज्यालामा गर्ने असमानता, कार्य सम्पादनमा मात्र जोड दिनु, महिला कर्मचारीप्रति गरिने यौन शोषण, आर्थिक शोषण, सेवा सुविधामा कमी, काम गर्ने उत्प्रेरणा नहुनु, नयाँ-नयाँ प्रविधिको प्रयोग नहुनु, तलबले आफ्नो आधारभूत आवश्यकता पूरा नहुनु, मनोरञ्जनको अभाव, कामको अनुभव नहुनु, कामबाट कहिले निकाल्ने हो ग्यारेन्टी नहुनु, आफ्नो रुचि भन्दा बाहिरको काम गर्न बाध्य हुनु, व्यक्तित्व विकासको अवसर नपाउनु, विदा नपाउनु, आफ्नो क्षमता भन्दा बढि र कठिन काम गर्न बाध्य हुनु, काम गर्ने कार्यस्थल सफा, स्वस्थ नभई धूवाँ, धूलो र कोलाहलपूर्ण हुनु, ठूलो पद/सानो पद भनेर भेदभाव गर्नु, निरुत्साहित बनाउनु, बढुवा नहुनु, चाकडी तथा चाप्लुसी प्रथा, नातावाद, कृपावाद आदि जस्ता कारणले व्यक्तिको मानसिक स्वास्थ्यमा असर पुर्याउने गर्दछ ।
नेपालको परिप्रेक्षमा पनि कार्यस्थलमा हुने यस्ता बाधा, अवरोध र कठिनाइले धेरै व्यक्तिको मानसिक स्वास्थ्यमा असर र प्रभाव पारेको अनुमान गर्न सकिन्छ । एउटा भनाइ नै छ, “सरकारी काम कहिले जाला घाम” यस भनाइले सरकारी कर्मचारीहरुमा काम गर्ने जोश जाँगर र उत्प्रेरणा कम भएको देखाउँछ । सरकारी कर्मचारीले तुरुन्त काम नगरिदिएको, राम्रोसँग नबोलेको, रुखो व्यवहार गरेको, पैसा खान खोजेको जस्ता आरोप उनीहरुमाथि नलाग्ने गरेका पनि होइनन् । हामी धेरैले गरेको तितो अनुभव पनि हो यो ।
मिडिया हाउसहरुले श्रमजीवी पत्रकारलाई न्यूनतम परिश्रमिक नदिएको, हस्पिटल/स्वास्थ्य संस्थाहरुले नर्सहरुलाई पारिश्रमिक नदिइ काममा लगाएको, सलुट नहान्दा हाकिमले सिपाइलाई निर्घात कुटपिट गरेको, सिपाइलाई हाकिमले जुत्ताको तुना बाँध्न लगाएको, घरेलु बालश्रमिक तथा घरेलु महिला कामदर माथि यौन तथा शारीरिक हिंसा, आर्मी/ पुलिस भित्र यौन शोषण, जागिर लगाइदिने भन्दै गरेको यौन शोषण आदि जस्ता समाचार सुन्नमा आउने गर्दछन् । यस कुराले कार्यस्थलहरुमा हुने मानसिक समस्यालाई सहजै अनुभव गर्न सकिन्छ ।
वैदेशिक रोजगारीमा गएका नेपालीहरु मानसिक समस्याबाट झनै बढी प्रभावित हुने गरेका छन् । कामको प्रकृति, साहुको दुर्व्यवहार, मानसिक टर्चर, शारीरिक एवं यौन शोषण, कार्यस्थलको वातावरण जस्ता कारणबाट मानसिक समस्यामा पर्ने, आत्महत्या गर्ने, दुर्घटनामा पर्ने, केही समय पछाडिनै नेपाल फर्कन बाध्य हुने गर्दछन् । वैदेशिक रोजगारीमा गएर नेपाल फर्केका महिलामा गरिएको एक अध्ययन अनुसार झन्डै ६८ प्रतिशत महिलाहरुमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या भएको पाइएको छ ।
आफ्ना कर्मचारी, कामदार, मजदुरहरुको मानसिक स्वास्थ्य स्थिति स्वस्थ, सवल र मजबुत भए मात्र उनीहरुले राम्रोसँग काम गर्न सक्छन् । यसले कामको उत्पादकत्वमा समेत वृद्धि गर्दछ । तर, उनीहरु मानसिक रुपमा स्वस्थ नहुँदा उनीहरुको कार्य क्षमतामा कमि आउँछ । जसले गर्दा उत्पादन लागत समेत बढ्न जान्छ ।
डिप्रेसन, तनाव लगायतका मानसिक समस्याका कारण मजदुर, कर्मचारीको कार्यक्षमतामा कमी आई प्रत्येक वर्ष एक टिलियन अमेरिकी बराबरको उत्पादनमा ह्रास आउने गरेको एक अध्ययनले देखाएको छ । यसैगरी, मानसिक स्वास्थ्यमा एक अमेरिकी डलर बराबरको लगानीले चार अमेरिकी डलर बराबरको प्रतिफल दिन सक्ने पनि अर्को एक अध्ययनले देखाएको छ ।
यस कारण मानसिक स्वास्थ्यमा लगानी गर्नु, आफ्नो कर्मचारी, कामदारको मानसिक स्वास्थ्य अवस्थाको ख्याल गर्नु, मानसिक स्वास्थ्य समस्या देखिएमा बेलैमा उपचारको पहल गर्नु, उपचारको खोजी गर्न, उत्प्रेरित गर्नु यसलाई सबैको चासो र सरोकारको विषय बनाउनु आवश्यक छ ।
मजदुर/कर्मचारीहरु खुशी, सन्तुष्ट र मानसिक रुपमा स्वस्थ भए मात्र राम्रोसँग काम गर्न सक्छन् र राम्रो परिणाम आउछ । कम्पनी, अफिसले गरेको प्रगतिको पछाडि आफ्ना कामदार र कर्मचारीहरुको ठूलो हात हुन्छ भन्ने कुरालाई बिर्सनु हुँदैन ।
कार्यस्थलको मानसिक स्वास्थ्यमा सुधार ल्याउनका लागि व्यवस्थापक, हाकिम तथा साहु, मानसिक स्वास्थ्यकर्मी, पैरवी कर्ता, स्वयं कामदार, सरोकारवाला, समाज र राष्ट्र सबैको त्यतिनै ठूलो भूमिका हुन्छ ।
कर्मचारी/कामदार र व्यवस्थापकबीचको सम्बन्धलाई सुमधुर बनाएर पारिवारिक वातावरण श्रृजना गर्ने, निर्णय प्रक्रियामा कर्मचारी, मजदुरहरुलाई समेत सहभागी गराउने, सबैको कामलाई उत्तिकै महत्व र सम्मान गर्ने, स्वास्थ्य बीमाको व्यवस्था गर्ने, बेला-बेलामा कर्मचारीहरुलाई सम्मान र पुरस्कृत गर्ने, बढुवा गर्ने, उनीहरुको व्यक्तित्व विकासका तालिमहरु सञ्चालन गर्ने, भ्रमण तथा पिकनिक लैजाने, तनाव व्यवस्थापनको तालिम दिने, आवश्यकता अनुसार सेवा सुविधा बढाउने, प्रविधिको प्रयोग गरेर कामको बोझलाई घटाउने आदि कार्य गरेर मजदुर, कर्मचारीको तनाव घटाउन सकिन्छ र उनीहरुको मानसिक स्वास्थ्य अवस्थामा सुधार ल्याउन सकिन्छ ।