नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवा पिछडिएको क्षेत्रबाट समानुपातिक सांसद बनेको भन्दै अहिले विभिन्न पोस्टहरू सामाजिक सञ्जालमा भाइरल छन् । ‘aashajoshi16’ नामक टिकटक प्रयोगकर्ताले मङ्सिर २५ गते आरजु राणा देउवाको फोटोसहितको एउटा स्क्रिनसट राखेर बनाइएको भिडियो अपलोड गरेका छन् । भिडियोसँगैको सामग्रीमा भनिएको छ, “उहाँ जति पिछडिएको अरू कोही हुनुहुन्छ ? लाजनीति । उहाँ पिछडिएको कोटामा समानुपातिक सांसदमा परी बक्सनुभएको अरे ।” उक्त भिडियो १६ हजारभन्दा बढी पटक हेरिएको छ ।
त्यसैगरी ‘realarjun1’ नामक ट्विटर ह्याण्डलबाट पनि आरजु राणा देउवा पिछडिएको क्षेत्रबाट समानुपातिक सांसद बनेको दाबीसहित पुस ३ गते शेरबहादुर देउवा र आरजुको फोटो पोस्ट गरिएको छ । सो सामग्री १६ हजारभन्दा बढी पटक हेरिएको छ भने ४१ पटक रिट्विट गरिएको छ ।
त्यसैगरी ‘notagainnepal’ नामक ट्विटर ह्याण्डलबाट पनि साे दाबी तस्बिरसहित ट्विट गरिएको छ । अन्य ट्विटर प्रयोगकर्ताले पनि सो दाबी सेयर गरेका छन् ।
के साँच्चै आरजु राणा देउवा पिछडिएको क्षेत्रबाट समानुपातिक सांसद बनेकी हुन्? नेपाल चेकले तथ्य जाँच गरेको छ ।
तथ्य जाँच
समानुपातिक निर्वाचनमा आफ्ना उम्मेदवार निर्वाचित गराउन दलहरूले निर्वाचन अगावै बन्द सूची पेस गर्नुपर्ने हुन्छ । बन्द सूची पेस गर्दा खस-आर्य, आदिवासी जनजाति, दलित, थारू, मुस्लिम र मधेसी गरी छवटा समावेशी समूह अन्तर्गत कम्तीमा पचास प्रतिशत महिला हुनेगरी कुन समूहबाट कसको नाम राखिएको हो भन्ने खुलाउनु पर्छ । यसका साथै कुनै उम्मेदवारको नाम पिछडिएको क्षेत्र, अपाङ्गता भएको वा अल्पसंख्यक समुदायबाट सिफारिस भएको हाे भने त्यसलाई “थप पहिचान” अन्तर्गत खुलाउनुपर्छ ।
समानुपातिक सांसदका लागि निर्वाचन अघि नै बन्द सूची बुझाइने र त्यसमा कुन समावेशी क्लस्टरबाट, कसको नाम राखिएको भन्ने विवरण सार्वजनिक गरिन्छ । त्यसैले हामीले सबैभन्दा पहिला दलहरूले निर्वाचन आयोगमा बुझाएको बन्द सूची हेर्यौं । कांग्रेसले बुझाएको बन्द सूचीमा आरजु राणा देउवाको नाम खस-आर्य समावेशी समूहको महिलातर्फ तेस्रो प्राथमिकतामा थियो ।
त्यसपछि हामीले निर्वाचन आयोगले जारी गरेको समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका सांसहरूको सूची हेर्यौं । आयोगले जारी गरेको विवरणमा पनि कांग्रेसबाट निर्वाचित सांसदहरूको सूचीमा उनको नाम खस-आर्य महिला अन्तर्गत छ ।
कांग्रेसले खस-आर्य समावेशी समूहको महिलातर्फ पिछडिएको क्षेत्रबाट कान्तिका सेजुवाल (जुम्ला, खस-आर्य महिलातर्फ पिछडिएको क्षेत्र अन्तर्गतको प्राथमिकता क्रम १), मैना रावल कार्की (जाजरकोट, खस-आर्य महिलातर्फ पिछडिएको क्षेत्र अन्तर्गतको प्रथमिकता क्रम २), र भावनाकुमारी शाही (कालीकोट, खस-आर्य महिलातर्फ पिछडिएको क्षेत्र अन्तर्गतको प्राथमिकता क्रम ३) गरी जम्मा तीन जनाको नाम बन्द सूचीमा राखेको थियो । उनीहरूमध्ये सेजुवाल र कार्की कांग्रेसबाट निर्वाचित भएका थिए ।
हामीले यस सम्बन्धमा बुझ्न निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेसँग पनि सम्पर्क गर्यौं । वाग्लेका अनुसार पिछडिएको क्षेत्रबाट समानुपातिक सांसद बन्नका लागि पिछडिएको क्षेत्र भनेर खुलाउनुपर्ने हुन्छ । त्यसरी मात्रै यथार्थमा पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुन्छ । “पिछडिएको क्षेत्रबाट निर्वाचित भन्नका लागि बन्द सूचीमा थप पहिचान पिछडिएको क्षेत्र भनेर खुलेको हुनुपर्यो । यदि त्यो खुलेको छैन भने पिछडिएको क्षेत्रबाट सांसद बनेको भन्न मिल्दैन,” वाग्लेले भने, “अर्को कुरा डडेल्धुरा पिछडिएको क्षेत्रमा पर्दैन ।”
दलका नेताहरूले कतिपय अवस्थामा नातेदार वा स्वार्थ जोडिएकालाई समानुपातिक सांसद बनाउँदा जसको प्रतिनिधित्व हुनुपर्ने हो, उसको प्रतिनिधित्व हुन नसकेको भनी राजनीतिक दलको आलोचना भएको छ । आरजु राणा देउवा पिछडिएको क्षेत्रबाट सांसद बनेको भन्ने दाबी गलत रहेको हाम्रो ठहर छ । समानुपातिक प्रतिनिधित्वको हिसाबले उनले खस-आर्य महिलाको मात्र प्रतिनिधित्व गरेकी छन् ।
यो सामाग्री नेपाल चेक डट ओआरजीले उत्पादन गरेको हो ।