नेपालमा दैनिक रुपमा ४७ वटा घरेलु हिंसाका उजुरीहरू प्रहरीकोमा पुग्ने गरेका छन् । आर्थिक वर्ष २०७४/७५ मा यो सङ्ख्या ३३ रहेकोमा अहिले बढेर ४७ पुगेको छ ।
केटिएम दैनिकले नेपाल प्रहरी मुख्यालयबाट प्राप्त गरेको विगत पाँच आर्थिक वर्षको तथ्याङ्क विश्लेषण गर्दा आ.व २०७८/७९ मा १७ हजार महिला हिंसाका उजुरी परेको देखिएको छ ।
महिला हिंसाका घटना मधेस प्रदेशमा अत्याधिक पाइएको छ भने शिक्षित व्यक्तिहरू बस्ने काठमाडौं उपत्यकाका तीन जिल्ला महिला हिंसा बढी हुनेमा दोस्रो स्थानमा छ । नेपालमा एक वर्षमा ‘घरेलु हिंसा’ का उजुरी झण्डै २० प्रतिशतले बढेको पाइएको छ ।
घरेलु हिंसाबाट पीडितले प्रहरी कार्यालय, स्थानीय निकाय (पालिका/वडा कार्यालय), राष्ट्रिय महिला आयोग, अदालतमा उजुरी दिन सक्छन् । तर यहाँ हामीले प्रहरीमा परेका उजुरीहरूलाई केलाउने प्रयास गरेका छौँ ।
आर्थिक वर्ष | घरेलु हिंसाका घटना |
---|---|
०७४/७५ | १२,२२५ |
०७५/७६ | १४,७७४ |
०७६/७७ | ११,७३८ |
०७७/७८ | १४,२३२ |
०७८/७९ | १७,००० |
पाँच आ.व.को जम्मा | ६९,९६९ |
हामीले प्राप्त गरेको विगत पाँच आर्थिक वर्षको प्रदेशगत तथ्याङ्कमा ०७८-०७९ मा सबैभन्दा बढी घरेलु हिंसाका घटना प्रहरीमा दर्ता हुन पुगेका छन् । उक्त आर्थिक वर्षमा १७ हजार घटना दर्ता भएकोमा आ.व ०७७-७८ मा १४ हजार २३२, ०७६-७७ मा ११ हजार ७३८, ०७५-७६ मा १४ हजार ७७२, र ०७४-७५ मा १२ हजार २२५ घरेलु हिंसाका घटनाहरू दर्ता भएका हुन् ।
नेपाल प्रहरीको महिला, बालबालिका ताथ जेष्ठ नागरिक निर्देशनालयको तथ्याङ्क केलाउने हो भने २०७० भन्दा अगाडि महिला हिंसाका घट्दा वार्षिक रुपमा दुई हजार भन्दा कम हुने गरेकोमा पछिल्लो १० वर्षमा यस्ता घटनाहरू बढ्न थालेका हुन् ।
मधेश प्रदेशलाई पछ्याउँदै काठमाडौं उपत्यका
विगत पाँच वर्षको तथ्याङ्कलाई प्रदेशगत रूपमा हेर्ने हो भने सबैभन्दा बढी घरेलु हिंसाका घटना मधेस प्रदेशमा भएको देखिन्छ । विगत पाँच आर्थिक वर्षमा त्यहाँ १९ हजार ७२० वटा घटना घटेको देखिन्छ
आ.व/प्रदेश | ०७४/७५ | ०७५/७६ | ०७६/७७ | ०७७/७८ | ०७८/७९ | जम्मा |
---|---|---|---|---|---|---|
प्रदेश १ | ४६९ | ५५८ | ५०८ | १,२८० | १,३३३ | ४,१४८ |
मधेस प्रदेश | ३,४८६ | ४.६७७ | ३,५२९ | ३,५५६ | ४,४७३ | १९,७२० |
बाग्मती प्रदेश | १,४८८ | १,५६७ | १,१२६ | १,१२६ | १,५६८ | ६,८७५ |
गण्डकी | १,१६४ | १,२१० | ९३४ | १,१९६ | १,४०९ | ५,९१३ |
लुम्बिनी | १,७०६ | २,१९९ | १,८५२ | २,३१८ | २,८६० | १०,९३५ |
कर्णाली | ८५५ | ८४२ | ६२५ | ८७२ | ९८३ | ४,१७७ |
सु.प. | ६१० | ६७५ | ७०५ | १,१३९ | १,३१६ | ४,४४५ |
उपत्यका | २,४४८ | ३,०५६ | २,४५९ | २,७४५ | ३,०५८ | १३,७५६ |
जम्मा | १२,२२५ | १४,७७४ | ११,७३८ | १४,२३२ | १७,००० | ६९,९६९ |
सबै जिल्लाका मानिसहरू बसोबास गर्ने काठमाडौँ उपत्यकामा मधेस प्रदेशपछि धेरै घटनाहरू दर्ता हुने गर्दछन् । चेतनाको स्तर विकास भएर पनि होला काठमाडौँ उपत्यकामा घरेलु हिंसाका घटना बढी दर्ता हुने गरेको पाइएका हुन् । यहाँ १३ हजार ७५६ वटा घटना घटेका छन् ।
लुम्बिनी प्रदेश तेस्रो स्थानमा छ त्यहाँ पाँच वर्षमा १० हजार ९३५ वटा घटना हुँदा काठमाडौं उपत्यकाका तीन जिल्ला बाहेक बाग्मती प्रदेशमा छ हजार ८७५ घटना दर्ता भएका छन् । प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने चार हजारको हाराहारीमा घटनाहरू दर्ता भएका छन् ।
बलात्कारका घटना प्रदेश १ मा बढि देखिएतापनि महिला हिंसाका घटना भने प्रदेश १ मा सबैभन्दा कम छन् । कर्णाली प्रदेशमा कुनै पनि आर्थिक वर्षमा १ हजार वा सो भन्दा माथिको सङ्ख्या घटना दर्ता भएको देखिदैन ।
के हो घरेलु हिंसा ?
२०६६ साल वैशाख १४ गते प्रमाणीकरण भएको घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ का अनुसार घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले आफ्नो घर परिवारमा भएको अर्को सदस्य दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनु पर्छ भनेर स्पष्ट रूपमा व्याख्या गरेको छ । आफ्ना घर परिवारका सदस्य भन्नाले घरमा काम गर्ने कामदार देखि लिएर धर्मपुत्र वा धर्मपुत्री वा आश्रित व्यक्तिलाई समेत समेट्छ ।
“शारीरिक यातना” भन्नाले कुटपिट गर्ने, गैर कानुनी थुनामा राख्ने, शारीरिक चोट पुर्याउने, तेजाब वा यस्तै प्रकारका अन्य पदार्थ छर्कने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरूप पारिदिने वा यस्तै अन्य कुनै काम गर्ने वा गराउने कार्य सम्झनु पर्छ ।
“मानसिक यातना” भन्नाले शारीरिक यातनाको डर धाक देखाउने वा धम्की दिने, त्रासपूर्ण व्यवहार गर्ने, गालीगलौज गर्ने, झुट्टा बात लगाउने, घरबाट निकाला गर्ने, वैचारिक, धार्मिक, सांस्कृतिक, प्रथा, परम्पराका आधारमा भेदभाव गर्ने, रूप, रङ्ग, शारीरिक बनावट तथा कुनै रोग लागेको आधारमा अपमानित गर्ने, मानसिक सन्तुलन गुमाउने, आत्महत्या गर्न दुरुत्साहन दिने वा आत्महत्या गर्ने परिस्थिति खडा गर्ने हदसम्मको कार्य सम्झनु पर्छ र सो शब्दले मानसिक वा भावनात्मक चोट पुग्न सक्ने अन्य कुनै काम समेतलाई जनाउँछ ।
“यौनजन्य यातना” भन्नाले यौनजन्य प्रकृतिको दुर्व्यवहार, अपमान, हतोत्साह वा आत्मसम्मानमा चोट पुर्याउने वा सुरक्षित यौन स्वास्थ्यमा आघात पुग्ने कुनै पनि कार्य सम्झनु पर्छ ।
“आर्थिक यातना” भन्नाले सगोल वा निजी सम्पत्तिको प्रयोग गर्न वा रोजगारी वा आर्थिक स्रोत र साधनको पहुँच वा प्रयोगमा वञ्चित गर्ने कार्य सम्झनु पर्छ र सो शब्दले महिलाको हकमा दाइजो माग गर्ने, दाइजो ल्याउन दबाब दिने वा दाइजो नल्याएको कारणबाट गरिने घृणा, हेला वा तिरस्कार समेतलाई जनाउँछ ।