सौन्दर्य प्रतियोगितामा सहभागी भएकी किशोरीले आफू पटक–पटक बलात्कृत भएको रहस्य खुलाएसँगै उनको न्यायका लागि आवाज उठ्न थालिसकेको छ। केही महिला अधिकारकर्मी, अभियन्ताहरूले न्याय माग्दै आन्दोलन थालेसँगै शनिवार दिउँसो प्रहरीले बलात्कार आरोपित मनोज पाण्डेलाई पक्राउ गरी अनुसन्धान थालेको छ।
ती किशोरीको पीडा सुनिदिनेको आवाज उठ्न थालेपछि सुनसरीको इटहरी उपमहानगरपालिकाकी एक युवतीले १५ वर्षको उमेरमा प्रिन्सिपलबाट पटक–पटक बलात्कृत भएको र प्रहरीमा उजुरी दिँदा पनि न्याय नपाएको खुलासा गरेकी छन् ।
इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलका तत्कालीन प्रिन्सिपल राज खड्काले आफूलाई दुई वर्षसम्म पटक–पटक बलात्कार गरेको जनाएकी छन्। बलात्कारको किटानी जाहेरी दिँदा पनि आफ्नो मुद्दा सुनुवाइ नभएको उनको भनाइ छ।
२१ वर्षीय ती युवतीले सात वर्षअघिको घटना भएकोले बाहिर निस्कने हिम्मत नभएको भए पनि अहिले सौन्दर्य प्रतियोगितामा सहभागी भई पीडित बनेकी युवतीका लागि जम्मा भएको जनसमुदाय देखेर आफू आशा लिएर उभिएको उल्लेख गरेकी छन्। ‘रे जिना’ नामक फेसबुक अकाउन्टबाट उनले आफ्नो मुद्दा बाहिर आएको र बलात्कारीको पर्दाफास भएको बताएकी छन्।
पुनः प्रहरीसमक्ष पुगिन् पीडित
ती युवतीले २०७४ सालमा इलाका प्रहरी कार्यालय धरान पुगेर किटानी जाहेरी दिएकी थिइन्। पहिलो पटक धरानमा घटना भएका कारण प्रहरीले धरानमा उजुरी दिन सुझाएपछि धरानमा जाहेरी दिएको बताउँदै पीडित किशोरीले जाहेरी लगत्तै ती पुरुष फरार भएको ‘केटिएम दैनिक’ सँग सुनाइन्।
प्रहरीले जाहेरी लिएर घटनाको अनुसन्धान सकेर जिल्ला सुनसरी अदालतसमक्ष मुद्दा पुर्याएको थियो। अदालतले पक्राउ पुर्जी जारी गरेपछि ती प्रतिवादी फरार रहेको भए पनि अहिले खुलेआम विद्यालय सञ्चालन गरेर बसिरकेको पीडितको गुनासो छ।
उनी भन्छिन्, ‘त्यस बेला म सानै थिएँ। मेरा पक्षमा बोलिदिने कोही भएनन्। कानुनी प्रक्रियाबारे जानेकी थिइनँ। धरान गएर जाहेरी दिँदा पनि मैले न्याय पाइनँ। आरोपित फरार भयो। अहिले पनि आरोपित खुलेआम जिन्दगी बिताइरहेको छ। तर प्रहरीले पक्राउ गर्न सकेको छैन।’
शनिवार पुनः उनीहरू प्रहरीसमक्ष पुगेका थिए। ‘बिदाको दिन भएका कारण उहाँहरूको मुद्दाको अदालती प्रक्रिया बुझ्न पाएका छैनौँ,’ इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव निरीक्षक दीपक कटवालले भने, ‘आज पनि बिदा छ। भोलि यसबारे जानकारी लिन्छौँ।’
पीडितको पूरा बयान यस्तो छ:
७ वर्षअघिको घटना भएकोले बाहिर निस्कने हिम्मत थिएन तर अहिले सुस्मिताका लागि जम्मा भएको जनसमुदाय देखेर म यहाँ आशा लिएर उभिरहेकी छु, अब मेरो मुद्दा बाहिर आएको छ र बलात्कारीको पर्दाफास भएको छ ।
घटना वर्ष २०७२/७३ को आसपासको हो।
म इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलको विद्यार्थी थिएँ । मलाई तत्कालीन प्रिन्सिपल राज खड्काले बारम्बार बलात्कार गरे । म होस्टेलमा बस्ने गर्थे र म कक्षा ९ मा थिएँ जब यो सबै सुरु भयो। मलाई त्यति बेला छातीमा समस्या देखिएको थियो, मेरो उपचारको लागि मेरो बुवाले एक पटक विदेशबाट उसको (प्रिन्सिपल) खातामा पैसा पठाउनुभयो, (आमाको खातामा नभई उहाँको खातामा पैसा किन पठाउनुभयो भनेर म पछि बताउनेछु) त्यसपछि उहाँले मलाई स्कुलबाट प्रिन्सिपलको साथमा सिधै अस्पताल जान भन्नुभयो । प्रिन्सिपलले मलाई अस्पताल लैजानुको सट्टा सीधै होटेलमा लग्यो । उसले मलाई केहि खान भन्यो तर मैले मानिन । म डराइरहेको थिए र मलाई पसिना आइरहेको थियो र उसले मलाई ‘यता आऊ यहाँ गर्मी हुँदैन’ भन्दै कोठा तिर जान भन्यो । त्यति बेला म १५ वर्षको थिएँ । उसले कोठामा थुन्यो र ताला लगायो र मलाई चाप्लुसी स्वरमा खाना खान भन्यो, मैले फेरी मानिन। त्यसपछि उसले मेरो स्कुलको ड्रेस च्यात्यो र मलाई बलात्कार गर्यो ।
उसले यसको भिडियो पनि बनायो र मलाई ब्ल्याक मेल गर्न प्रत्येक पटक त्यो भिडियो प्रयोग गर्यो । यो क्रम मेरो एसईई सम्म २ वर्ष सम्म जारी रह्यो । बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, अफिस, होस्टेल कोठा, जहाँसुकै जहाँ पनि उसले मलाई बलात्कार गर्यो ।
उसले मलाई बिदामा पनि घर जान दिएन, घर गयो भने मेरो पढाइ खस्किन सक्छ त्यसैले होस्टेलमा बस्नु राम्रो हुने भनी मेरो घरमा भन्यो । म माथिको मेरो भनाई स्पष्ट पार्छु। मेरो बुबाले प्रिन्सिपलको खातामा पैसा पठाउनुको कारण चैँ छोरी राम्रो पढ्दै छे र उसको लागि घर नजानु नै राम्रो हो भनी उसले मेरो अभिभावकलाई यसरी गलत विश्वास दिलायो, त्यही भरोसाको कारण मेरो बुवाले उसको खातामा पैसा पठाउनु हुन्थ्यो ।
मलाई घर जान नदिने, आमाबुवाले उसको कुरामा विश्वास गरेर सधैँ होस्टेलमै हुन दिनु, मेरो आमा स्कुलबाट ५ मिनेट टाढा बस्नु हुन्थ्यो र पनि मलाई प्रिन्सिपलले अस्पताल लैजान दिनु भयो, यो सब फिल्मी जस्तो सुनिन्छ नि होइन ? तर यो मेरो जीवनको वास्तविक कथा हो ।
मैले मेरा साथीहरूलाई भएका हरेक घटनाहरू भनेँ तर कसैले पत्याएनन् । म बाल्यकालदेखि नै हकी स्वभाव र बोल्ने खालको थिएँ, त्यसैले सबैले मेरो चरित्रलाई नै दोष दिन्थे, म पीडित हुँ भनेर कसैले विश्वास गरेनन्, कसैले मेरो पक्षमा अडान लिएनन् । म मेरो युद्धमा एक्लै थिएँ । मैले यो कुरा प्रिन्सिपलकी श्रीमतीलाई पनि भने (उसको त्यति बेला श्रीमती र एक छोरा थिए), तर उनले पनि मेरो लागि बोलिनन् । मैले स्कुलमा ३ पटक (२ वर्ष भित्र) आत्महत्या गर्ने असफल प्रयास गरे। न म मरे, न मेरो समस्या समाधान भयो ।
एसईई सकेपछि परिवारलाई यो कुरा भन्ने हिम्मत जुटाए तर न्याय पाइनँ, त्यो बलात्कारी फरार भयो र मेरो मुद्दा अझै चलिरहेको छ, उनीहरू भन्छन् । जब म फलो अप गर्थेँ, प्रहरीले कहिले बलात्कारीलाई खोज्दै छौ भन्छ । ७ वर्ष भइसक्यो तर बलात्कारी कहाँ छ ? अन्तिममा मैले न्याय पाउने आशा गुमाए र प्रहरीलाई फलोअप गर्न छोडेँ, तर जब सामाजिक सञ्जालमा न्यायको लागि हल्ला गरेको सुन्दा त्यो घटनाले बारम्बार आघात पर्छु र म एक कमजोर केटी मेरो विगत सम्झेर रातभर रुन्छु ।
बलात्कारी काठमाडौंमा रहेको र एउटा स्कुलको प्रिन्सिपल नै भएर काम गरिरहेको सुनेको छु ।