काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । दोस्रो र तेस्रो नम्बरमा रहेका उम्मेदवारहरूको मतान्तर भने घट्दै गएको छ ।
शनिबार दिउँसोको ताजा मतपरिणामअनुसार लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार बालेन भनिने वालेन्द्र साह ३४१३० मतका साथ अग्रस्थानमा छन् ।
उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार स्थापित १८५४७ र गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८४२९ मत पाएकी छन् ।
साह स्थापितभन्दा १५ हजार ५८३ मतले अगाडि छन् भने सिंहभन्दा १५ हजार ७०१ मतले अगाडि छन् । जबकी दोस्रो स्थानमा रहेका स्थापित र तेस्रो स्थानमा रहेकी सिंहबीच भने ११८ मतको मात्र अन्तर रहेको छ ।
यस्तै प्रमुख पदमा राप्रपाका मदनदास श्रेष्ठ २५०४ मतका साथ चौथो स्थानमा छन् ।
उपमेयरतर्फ नेकपा एमालेकी सुनिता डंगोल ३४१२८ मतका साथ शीर्षस्थानमा हुँदा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११२६० मत ल्याएका छन् । तेस्रो स्थानमा रहेकी विवेकशील साझा पार्टीकी बिनिता मगैयाले भने ७१९३ मत पाएकी छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनामा समावेश वडाहरुमा १ देखि १० र २४ देखि ३२ नम्बर सम्मका रहेका छन् । यस्तै हालसम्म परिणाम घोषणा भएका वडाहरुमा १ देखि ६ तथा ८, २८ र २९ नम्बर रहेका छन् ।