गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ४१ दशमलव १४ प्रतिशत युवा निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २१ देखि ४० वर्ष उमेर समूहका युवा १४ हजार ४४२ अर्थात् ४१ दशमलव १४ प्रतिशत युवा निर्वाचित भएका छन् ।
प्रमुखमा ३७, उपप्रमुखमा ९५, अध्यक्षमा १०६, उपाध्यक्षमा दुई सय ३४ युवा निर्वाचित भएका हुन् ।
नेपालमा १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्ने गरिन्छ । वडाध्यक्षमा दुई हजार ३१२, महिला सदस्यमा तीन हजार २३३, दलित महिला सदस्यमा तीन हजार ६०६ र सदस्यमा चार हजार ८१९ निर्वाचित भएका हुन् ।
४१ देखि ६० वर्षका ५२ दशमलव २७ प्रतिशत, ६१ देखि ८० वर्षका ६ दशमलव ५२ प्रतिशत र ८० भन्दा माथिका शून्य दशमलव ०४८ प्रतिशत निर्वाचित भएका छन् ।
आयोगका अनुसार ४१ देखि ६० वर्ष उमेर समूहका १८ हजार ३४७ र ६१ देखि ८० वर्ष उमेर समूहका ज्येष्ठ नागरिक दुई हजार २९१ निर्वाचित भएको आयोगले जनाएको छ । यसैगरी ८० वर्षभन्दा माथिका १७ निर्वाचित भएका छन् ।
वडाध्यक्ष तीन, चार दलित महिला सदस्य र १० वडा सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचनबाट कूल ३५ हजार २२१ जनप्रतिनिधि निर्वाचित हुनुपर्नेमा ३५ हजार ९७ जना मात्र निर्वाचित भएका हुन् ।
दलित महिला सदस्य पदमा १२३ जना र महिला सदस्य पदमा एकजनाको सिट भने अबको पाँच वर्षको लागि रिक्त हुने भएको छ ।