काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आइतबार आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
स्वतन्त्र व्यक्तिका रुपमा महानगरको प्रमुखमा निर्वाचित भएपछि उनले एक वर्षको योजना अघि सारेका हुन् । सो क्रममा मेयल बालेनले केही आकर्षक योजना अघि सारेका छन् ।
काठमाडौं महानगरपालिकाले यहाँका स्थानीय नेवार समुदायले उत्पादन गर्ने स्थानीय पेय पदार्थ ब्रान्डिङ गर्ने भएको छ। ‘नेवार समुदायको स्थानीय पेय पदार्थलाई कानुनी रुपमा वैधानिकता दिएर अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गरिनेछ’ उनले भने।
यसअघि कोदोबाट उत्पादित लोकल रक्सीलाई ब्रान्डिङ गर्ने अभियानलाई प्रदेश एकमा मन्त्री उषाकला राईले पनि प्रवेश गराएकी थिइन् ।
काठमाडौंका नेवारी समुदायमा अयला पेय पदार्थ प्रख्यात छ। यो चामल, गेडा गुडी तथा कोदोलाई फरमेन्टेसन गरी डिस्टिलेसन गरी बनाइन्छ। यसको हालसम्म व्यावसायिक रुपमा उत्पादन गरिएको छैन्। तर नेवारी रेष्टुरेन्टहरूमा बिक्री हुने गर्दछ। यसमा ६० प्रतिशत रक्सी हुन्छ। जसलाई स्थानीय नेवारी खाजा घरहरूबाट किन्न सकिन्छ।
त्यस्तै काठमाडौं महानगरपालिकाभित्र घर भाडासम्बन्धी काम अबदेखि कम्पनीमार्फत मात्रै हुने भएको छ। उनले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै घरजग्गा बहाल कम्पनीमार्फत मात्रै हुने व्यवस्था हुने बताए। संघीय सरकारले समेत घरजग्गा बिक्रीवितरण कम्पनीमार्फत गर्ने नीति लिएको छ। मेयर शाहले घरजग्गा भाडालाई व्यवस्थित गर्न सो नीति अपनाएका हुन्।
साथै काठमाडौं महानगरपालिकाले भगिनी सम्बन्ध कायम भएका नगरपालिकालाई अनुदान दिने भएको छ। डडेलधुराको अमरगढी नगरपालिका र धनकुटाको पाख्रीबास नगरपालिकालाई ऐतिहासिक तथा पर्यटन पूर्वाधार सुधार र विकासका लागि दुबै नगरपालिकालाई समान १ करोड ५० लाख रूपैयाँ अनुदान सहयोग गर्ने भएको छ।
महानगरपालिकाले महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने भएको छ । यात्रुहरुको बिश्रामका लागि बस स्टपहरुमा फल्चा निर्माण गर्न विभिन्न संघ संस्थालाई प्रोत्साहित गर्ने बताएका छन् । उनले महानगर आफैंले पनि यसमा लगानी गर्ने बताएका छन् ।
उनले डबलीहरु पनि पुनर्स्थापना गर्ने घोषणा गरे । महानगरपालिकाले कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्र नियमन गर्ने भएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्दको अभिलेखीकरण गरेर व्यवस्थित ढंगले सञ्चालन गरिने उल्लेख छ ।