पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने बताएका छन् ।
विदेशबाट आएको कालो धन रोक्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कदम चालेपछि रुष्ट बनेर अर्थमन्त्री शर्माको सक्रियतामा सरकारले अधिकारीलाई निलम्बन गरिएको खतिवडाको भनाइ छ ।
पूर्वअर्थमन्त्री एवम् गभर्नर खतिवडाले गभर्नरलाई कार्वाही होइन अर्थमन्त्री जनार्दन शर्माको राजीनामा आउनु पर्ने स्पष्ट पारेका छन् ।
अझै तीन वर्ष कार्यकाल बाँकी रहेका गभर्नर अधिकारीमाथि व्यक्तिगत स्वार्थका निम्ति कुनै छलफल र परामर्शबिना सरकारले निलम्बन गरेपछि चौतर्फी आलोचना भइरहेको छ ।
अर्थमन्त्री जनार्दन शर्मासँग विभिन्न विषयमा मतभेद रहेका भनिएका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारी सूचना चुहाएका सहितका आरोप लगाउँदै कारबाही प्रक्रिया अघि बढाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।
प्रधानमन्त्री देउवाको सचिवालयले दिएको जानकारी अनुसार छानविन समितिको संयोजकमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारी, र सदस्यहरूमा पूर्व योजना आयोगका सदस्य चन्द्रकान्त पौडेल तथा अर्थविद् सूर्यबहादुर थापा रहेका छन्।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रावधान अनुसार पदमुक्त गर्नुअघि सफाइको मौका दिन जाँचबुझ समिति गठन गरिएसँगै गभर्नर अधिकारी स्वत: निलम्बित भएका छन्।
सरकारले गभर्नरमाथि आफूले लगाएका आरोपबारे औपचारिक रूपमा केही बोलेको छैन।
बिबिसि नेपाली सेवासँग कुरा गर्दै खतिवडाले अर्थतन्त्र सङ्कट उन्मुख अवस्थामा पुग्दा त्यसको जिम्मेवार अर्थमन्त्री पदबाट हटाउनुको सट्टा गभर्नरमाथि प्रतिशोध साँधिएको बताए।
उनी भन्छन्, “मुलुकको आर्थिक दुरावस्थाको पहिलो नैतिक जिम्मेवारी अर्थमन्त्रीको हुन्छ। आफू मातहतका निकायहरू ठिक राख्यो भने समग्र आर्थिक प्रणालीहरू पनि ठिक हुन्छ। राष्ट्र बैंकको मौद्रिक नीति समयमा ल्याउन पनि नदिने, स्वतन्त्र ढङ्गले कार्यान्वयन गर्न पनि नदिने अनि समस्या बढ्दै गएपछि र बाह्य क्षेत्रमा नै सङ्कट उत्पन्न भएपछि गभर्नरको मात्रै कारणले अर्थतन्त्र ध्वस्त भएको जस्तै देखाउने गरी आफू चोखो बन्ने गरी चालिएको यो प्रतिशोधपूर्ण व्यवहार हो।”
हालै अर्थमन्त्रीले अमेरिकी निकायले फिर्ता गर्न भनेको एउटा कारोबारमाथिको रोक्का फुक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको विवरण कान्तिपुर दैनिकले प्रकाशित गरेको थियो।
अर्थमन्त्रीबाट भएको हस्तक्षेपलाई गलत भन्दै खतिवडाले सरकारको पछिल्लो कदमले राष्ट्र बैंकको मनोबल खस्काउने चेतावनी दिए।
उनी भन्छन्, “सङ्कट चुलिँदै गएको अवस्थामा सरकारप्रति निजी क्षेत्रको भरोसा टुट्दै गइरहेको छ। यस्तोमा सरकारका सबै अवयवहरू एक ठाउँमा बसेर चुस्त र दुरुस्त हिसाबले समस्याको समाधान गर्नुपर्नेमा एउटा मान्छेलाई बलिको बोको बनाएर आफू उन्मुक्त हुन्छु भनेर अघि बढ्दा अब कसले अर्थतन्त्रमा काम गर्ने? अलिकति जानिफकार त्यही राष्ट्र ब्याङ्कको गभर्नर थिए तीनलाई हटाएपछि अब के गर्ने भन्ने कुरामा पनि म समस्या देख्छु।”
गभर्नरले सूचना चुहाएको आरोप अर्थ मन्त्रालयकै सहसचिवको नेतृत्वमा एउटा छानबिन समिति गठन गरेर सम्बोधन गर्न सकिने भन्दै खतिवडाले थपे, “यो भनेको नितान्त प्रतिशोधपूर्ण र दुराशयपूर्ण अनि पहिले २०६५ सालमा उहाँहरूले रुकमाङ्गद कटुवाल(तत्कालीन सेना प्रमुख)लाई हटाएजस्तै घटना हो भन्ने मैलै बुझ्छु।”
त्यस्तै अर्का पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महत सरकारले किन त्यस्तो कदम चालेको होला भनेर आफूले नबुझेको बताए।
गभर्नर विरुद्ध कारबाही गर्नुपर्ने अवस्था अहिले आफूले नदेखेको भन्दै उनले भने, “यस्तो किन गरेको हो मैले बुझिन। मलाई थाहा भएन। मलाई यस्तो (कारबाही गर्नुपर्ने) अवस्था छ भन्ने लागेको छैन।”