मोरङको धनपालथान गाउँपालिकामा महिलामाथि बलात्कार गरेको आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनपालथान गाउँपालिका–५ बबियाका ४५ वर्षीय कालुराम खवास रहेका छन् ।
उनी सोही ठाउँमा रहेको एकतारा आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् । इलाका प्रहरी कार्यालय रङ्गेलीले उनलाई बिहीबार पक्राउ गरेको हा । उनीमाथि स्थानीय २९ वर्षीया महिलालाई घरमै पुगेर बलात्कार गरेको आरोप छ ।
गत पुस १२ गते राति महिलाको घरमै पुगेर बलात्कार गरेको किटानी जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले केटिएम दैनिकलाई बताए । उनका अनुसार बलात्कारपछि उनले महिलाको साथमा रहेको नगदसमेत लुटेर फरार भएको जाहेरी परेको छ ।
कति रकम लुटिएको हो भन्ने बारेमा अनुसन्धान थालिएको जनाउँदै आरोपितमाथि आजै म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रवक्ता श्रेष्ठले बताए ।