एक गर्भवती महिलाको हत्या गरेर शव जमिनमा गाडेको आरोपमा कपिलवस्तुमा पति र ससुरालाई प्रहरीले पक्राउ गरेको छ।
यशोधरा गाउँपालिका-८ की अन्दाजी २१ वर्षीया रहिसुन्निसा मुसलमानको हत्या को आरोपमा उनका पति २२ वर्षीय मोहम्मद नसिम र उनको बुवा ५० वर्षीय अब्बासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
मृतक महिला दुई महिनाको गर्भवती भएको र मृत्यु शंकास्पद भएकोले शुक्रबार गाडेको शव उत्खनन गरी पोष्टमार्टमको लागि लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ।
बिहीबार बेलुका रहिसुन्निसाको ज्यान लिएर भोलिपल्ट सतगत गरिएको भन्दै स्थानीयले सूचना दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
यस क्रममा ती महिलाका श्रीमान् २२ वर्षीय मोहम्मद नसिम अलि भाट मुसलमान र उनका बुवा ५० वर्षका अब्बास अली भाटा मुसलमानलाई पक्राउ गरिएको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।