मोरङको सुन्दरहरैँचा नगरपालिकामा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीले बिहीबार बिहान सुन्दरहरैँचा–८ का ५३ वर्षीय रामदेव चौधरीलाई पक्राउ गरेको हो ।
बेलबारी प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालका अनुसार बुधबार साँझ चौधरीले स्थानीय १२ वर्षीया बालिकालाई बलात्कार गरेका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले ती बालिकालाई ललाइफकाई घरनजिकैको बाँसघारीमा लगेर बलात्कार गरेको खुलेको खनालले जानकारी दिए ।
तथापि, पीडित र पीडक दुवैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराइएका कारण रिपोर्ट आइसकेपछि यसबारे पुष्टि हुने उनको भनाइ छ ।
ती बालिकाले परिवार र आफन्तलाई जानकारी गराएपछि प्रहरीसमक्ष घटनाको जानकारी आएको थियो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाएको छ ।
इन्स्पेक्टर खनालका अनुसार बलात्कार पीडित बालिका उपचारको लागि धरानमै छिन् ।