पूर्वपत्नीलाई इच्छाविपरीत जबजस्ती करणी गरेको आरोपमा धरान उपमहानगरपालिका– १५ बरगाछी मिलन चोक बस्ने काठ ब्यवसायीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । पक्राउ पर्नेमा ५२ वर्षीय भोजराज थापा (फडिन्द्र) क्षेत्री रहेका छन् ।
इलाका प्रहरी कार्यालय धरानका नायव उपरीक्षक नगेन्द्र कुवँरका अनुसार गत बिहीबार बिहान ६ बजेको समयमा पूर्वपत्नीलाई लछार–पछार पारी बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले उनलाई घटनास्थलबाटै पक्राउ गरेको हो । पक्राउ परेका उनीउपर किटानी जाहेरीपछि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानसमेत जारी राखिएको उपरीक्षक कुवँरले बताए ।
कान्छी पत्नीको घरमा ‘घरज्वाइँ’ भएर ससुरालीमा नै बसेर ससुरालीले बनाएको घर, सम्पत्ति तथा फर्निचर हाउससमेत आफ्नो बनाएका उनले जेठी पत्नीको घर पुगेर बलात्कार गरेको महिला सहयोगी सन्जालकी सदस्या सीता राईले बताइन् ।