प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय स्थगित गरेका छन् ।
प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी आफैंसँग राखेर उमेश श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका थिए ।
केहीदिनअगाडी स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका उमेश श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरेका थिए भने युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए । यस्तै स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारीलाई पठाएका थिए ।
तर प्रधानमन्त्री देउवाले राज्यमन्त्रीले निर्णय गर्न नमिल्ने भन्दै कार्यान्वयनमा रोक लगाएका छन् ।
स्वास्थ्य मन्त्रालयको प्रवक्ता हुँदै अध्यादेशसँगै उनी युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख भएर आएका थिए। स्वास्थ्य मन्त्रालयको प्रवक्ताको रूपमा कोरोना अपडेट लाइभ गर्न थालेपछि गौतम जनमानसबिच परिचित भएका थिए। उनी मन्त्रालयमा २०७७ जेठ २६ बाट २०७८ जेठ १२ गतेसम्म करिब एक वर्ष मन्त्रालयमा प्रवक्ता रहे।
त्यस अघि उनी प्रसूति गृहको निर्देशक थिए।