ओछ्यानमा निदाइरहेका बेला शनिबार बिहान मोरङको बाहुनीमा एक पुरुषले आफ्नै पत्नीको बीभत्स हत्या गरेका छन् । बेलबारी नगरपालिका–७ बाहुनीकी ४८ वर्षीया सीता घिमिरेको हत्या आफ्नै पति (श्रीमान) ५४ वर्षीय अम्बिका घिमिरेले गरेका हुन् ।
मोरङ प्रहरीका निमित्त प्रमुख डीएसपी मञ्जील मुकारुङका अनुसार अम्बिकाले काठको मुङ्ग्रोले देब्रे कञ्चटमा पटक–पटक प्रहार गरेर शनिबार बिहानका राति २:३० बजेतिर ओछ्यानमा सुतिरहेकी श्रीमतीको हत्या गरेको पुष्टि भएको छ ।
सीतालाई बिहान ५ बजेतिर आफ्नै बुहारीले ओछ्यानमा मृत फेला पारेकी हुन् । तत्काल घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सरोज खनाल नेतृत्वको टोलीले देब्रे कञ्चट फुटेर सिरानी र ब्ल्याङ्केटमा रगत लागेको तथा ओछ्यानमा घोप्टो परेको अवस्थामा सीताको शव फेला पारेको थियो ।
सिरानीमुनि कपालसमेत लागेको मुङ्ग्रो फेला परेको र सीतासँग एउटै ओछ्यानमा सुतेका अम्बिका घरमा नभएको पाइएपछि खनाल नेतृत्वको टोलीले मिहिन ढंगले अनुसन्धान थाल्दा हत्याको पुष्टि भएको हो । अम्बिकाले सुतेको ओछ्यानबाट ब्युँझिन नपाउँदै देब्रे कञ्चटमा चार–पाँच पटक मुङ्ग्रोले प्रहार गरेर श्रीमती सीताको हत्या गरेको खुलेको मुकारुङले बताए ।