केपी शर्मा ओलीले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई पार्टीबाट निलम्बित गरेका छन् । स्पष्टीकरण पत्रको जवाफ चित्तबुझ्दो नदिएको आरोपमा ओलीले दुवै नेतालाई निलम्बन गरेका हुन् । स्पष्टीकरणको जवाफमा अहङ्कार देखाएको, आत्मालोचना नगरेको र उल्टै प्रतिस्पष्टीकरण सोधेको भन्दै ओलीले सोमबार ६ महिनाका लागि विभिन्न जिम्मेवारीसँगै पार्टी सदस्यताबाट समेत निलम्बन गरेको पत्र नेपाल र रावललाई पठाएका हुन् । पत्रमा गतिविधिहरू कायम रहेमा जुनसुकै वेला पनि थप कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।
नेपाल–रावलद्वारा कारबाही अस्वीकार, प्रतिवादमा उत्रिने तयारी
यता नेता नेपाल र रावलले भने कारबाही अस्वीकार गरेका छन् । उनीहरूले ओली नै अवैधानिक भएको दाबी गरेका छन् ।
नेता नेपालले भने यसलाई अस्वीकार गरेका छन् । ‘केपी ओली विधानको उल्लङ्घन गर्ने ओलीलाई कुनै स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने अधिकार नभएकोले यसलाई स्वीकार गर्न नसकिने उनीहरूको भनाइ छ ।
नेता नेपालले देशभरका कार्यकर्तालाई ओलीको यस कदमविरुद्ध प्रतिवादमा उत्रिन आह्वान गरेका छन् । ‘नीति, विधि, नैतिकता, मूल्य, मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिनुभएका सबै नेता–कार्यकर्ताहरूलाई कत्ति पनि विचलित नभई सबै खाले अति वाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरुद्धमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न हार्दिक अपिल गर्दछु,’ नेपालले भनेका छन्, ‘टुक्रा–टुक्रामा विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत, विस्तार र विकास गरेको हामीले हो । यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिनेछैन ।’
राजनीतिक रूपमा ओली र नेपालको सहकार्य र भेटघाट भएको ४७ वर्ष भयो । उनीहरुबीच ४७ वर्ष लामो सम्बन्ध भए पनि ओली–नेपाल अब एकै ठाउँ बस्न नसक्ने अवस्था पैदा भएको छ ।
ओलीसँग असन्तुष्ट बनेका नेपालसहित नेताहरू पछिल्लो समय आफ्ना अडानमा केही लचक देखिँदै आएका थिए । वरिष्ठ नेता नेपाल स्वयंले आफू पक्षीय युवा सङ्गठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ‘ओलीसँग ४८ वर्षदेखिको प्रेम त्यति सजिलै नटुट्ने’ भनेर समेत अभिव्यक्ति दिएका थिए । साथै बालुवाटारमा बोलाएका कुनै पनि बैठकमा नजाने अडान विपरीत १३ गते बोलाइएको संसदीय दलको बैठकमा समेत वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावलबाहेक सबै सांसद उपस्थित भएका थिए । तर, ओली न त संसदीय दलको उक्त बैठकमा नरम भएर प्रस्तुत भए न स्पष्टीकरणको जवाफ दिएपछि पनि संवादलाई अगाडि बढाउने पक्षमा देखिए ।
सांसद पद के हुन्छ ?
डेढ वर्षअघि भदौदेखि सुरु भएको खटपटले अहिलेसम्म आइपुग्दा उनीहरूलाई करिब करिब नदीका दुई किनारा बनाएको हो । नदीका दुई किनार कहिल्यै मिल्ने कुरा भएन । ओली र नेपालबिच पनि अब मिलनको सम्भावना लगभग सकिएको छ । तर, यो राजनीति हो । यहाँ दुई किनार मात्रै होइन पहाड र तराईको पनि भेट हुन्छ ।
पार्टी सदस्यबाट निलम्बनेसँगै अब उनीहरूको सांसद पद के हुन्छ ? राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १८ मा विधान विपरीत काम गर्ने वा दलको आचारसंहिता पालना नगर्ने सदस्य वा पदाधिकारीलाई विधानमा व्यवस्था भएबमोजिम दलले कारण खुलाई अनुशासनात्मक कारबाही गर्न सक्ने व्यवस्था छ ।
ऐनको दफा २८ मा संसदीय दलको नेताले दलका सांसदहरूलाई निर्देशन दिन (ह्विप जारी गर्न) सक्ने व्यवस्था छ ।
ह्विपको उल्लङ्घन भए वा निर्देशन पालना नगर्ने सदस्यको विवरण सचेतकले सम्बन्धित दलको केन्द्रीय समितिलाई दिनुपर्नेछ । यसरी विवरण प्राप्त भएपछि दलको केन्द्रीय समितिले सुनुवाइको मौका दिई स्पष्टीकरण चित्तबुझ्दो नभए त्यस्तो सदस्यलाई दलबाट निष्कासन गर्न सक्ने व्यवस्था छ ।
ऐनको दफा ३४ अनुसार दलबाट निष्कासन गरिए त्यसको निर्णयसहितको सूचना सम्बन्धित संसदीय दलले संसद् सचिवालयलाई दिनेछ । यो विषय अब पार्टी र संसदीय दलकै निर्णयमा भर पर्नेछ । पार्टी तथा सांसदबाट निलम्बन गर्न सक्ने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको छ । सांसद पद के हुने भन्ने पनि ओलीकै निर्णयमा निर्भर रहने छ ।
४७ वर्षपछि दुई किनार
नेता नेपाल २०२६ सालमा नेकपा (पुष्पलाल समूह) र ०२८ मा नेपाल क्रान्तिकारी सङ्गठन मोरङको सदस्य भएका थिए । यही वेला उनी र केपी ओलीबिच भेट भएको थियो । त्यसयता उनीहरू एउटै पार्टीमा सक्रिय हुँदै आएका हुन् । राजनीतिक रूपमा ओली र नेपालको सहकार्य र भेटघाट भएको ४७ वर्ष भयो । झापा आन्दोलन हुँदै को–अर्डिनेसन केन्द्रमा जोडिन आएका ओली र कोअर्डिनेसन केन्द्रबाटै पार्टी एकीकरण अभियान थालेका नेपालबिच करिब ४७ वर्ष लामो सम्बन्ध भए पनि ओली–नेपाल अब एकै ठाउँ बस्न नसक्ने अवस्था पैदा भएको छ ।
४७ वर्षपछि उनीहरू तत्कालका लागि नदीका दुई किनारजस्तो भएका छन् । पछिल्लो डेढ वर्षयता तिक्ततापूर्ण सम्बन्ध रहेका दुवै नेता अब कुनै चमत्कार भएकोमा बाहेक एक नहुने अवस्थामा पुगेका छन् ।
यसअघि नेता नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेका थिए अहिले ओलीले गरिदिए । डेढ वर्षअघि भदौदेखि सुरु भएको खटपटले अहिलेसम्म आइपुग्दा उनीहरूलाई करिब करिब नदीका दुई किनारा बनाएको हो । नदीका दुई किनार कहिल्यै मिल्ने कुरा भएन । ओली र नेपालबिच पनि अब मिलनको सम्भावना लगभग सकिएको छ । तर, यो राजनीति हो । यहाँ दुई किनार मात्रै होइन पहाड र तराईको पनि भेट हुन्छ । माछा मार्ने र तरुल खन्नेहरू पनि सँगै हुन्छन् । बेलाबेलामा चमत्कार हुन्छ । नसोचेका घटना हुन्छन् । यो चमत्कार भने हेर्न बाँकी छ ।