नेकपाकी नेतृ रामकुमारी झाँक्रीले केही दिन अगाडी एक टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिले समाजसेवा गर्नेहरूमा प्रश्न चिन्ह खडा गरेको छ ।
फिल्म सम्बन्धित कार्यक्रम ग्ल्यामर गफमा पत्रकार प्रकाश सुबेदी सँगको कुराकानीमा झाँक्रीले कलाकार धुर्मुस सुन्तली अर्थात् सिताराम कट्टेल र कुन्जना घिमिरे र श्वेता खड्कालाई निशाना बनाउँदै अरू सँग चन्दा मागेर कहिले पनि समाजसेवा नहुने बताएकी छिन् ।
समाजसेवा आफूले आफ्नो तहबाट आफ्नो मन बाट गर्ने हो अरू सँग मागेर होइन उनले भनिन ।
राम कुमारी झाँक्रीले जसको जे काम हो त्यही काम गर्नुपर्छ कलाकार हो भने कलाकारिता गर्नुपर्छ अरू सँग चन्दा मागेर समाजसेवा गर्ने होइन । उनले प्रत्यक्ष नभने पनि उनले घुमाउरो पारामा समाजसेवाको नाममा नौटङ्की भइरहेको बताएकी छिन् । पत्रकार प्रकाश सुबेदीले कार्यक्रमको धर्म सङ्कट नामक सेगमेन्टमा धुर्मुस सुन्तलीको फाउन्डेसन र श्वेता खड्काको फाउन्डेसन मध्य कसलाई रोज्नु हुन्छ भन्दा उनले आफू कसैलाई नरोज्ने भन्दै ठाडो जवाफ दिएकी थिइन् ।
उनले यसरी चन्दा मागेर समाजसेवाको नाटक गर्ने कसैलाई आफूले मन नपराउने र सधै यसको विरोध समेत गर्ने उनले बताएकी छिन् । उनको अभिव्यक्तिले धेरैलाई एक पटक सोच्न बाध्य बनाएको छ । किन भने धुर्मुस सुन्तली फाउन्डेसन र श्वेता फाउन्डेसन दुवै विवादमा परिसकेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनले गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाउने नाममा प्राप्त सहयोग रकमको हिसाब नदेखाएको भन्दै अनेक विवाद खडा भएको छ ।
यस्तै यता श्वेता फाउन्डेसनले पनि माझी बस्तीको नाम पैसा हिनामिना गरेको र सहयोग प्राप्त दाताहरूको बारेमा खुलाउन नखोजेको भन्दै विवाद आएको छ । केटिएम दैनिकसहित केही पत्रकारको टोली २ सातअघि श्वेता खड्काले बनाएको भनिएको सिन्धुपाल्चोकको माझी बस्ती पुग्दा त्यहाँका बासिन्दाहरूले यो बस्ती श्वेताले नबनाएको र आफूहरूले ऋण गरेर घर बनाएको र आज सम्म ऋण तिर्दै गरेको भन्दै बोले पछि विवाद अझ बढी चुलिएको छ ।
उक्त टोलीमा गएका मध्येको एक समूहको भिडियो युट्युबमा ट्रेन्डिङमा आएपछि श्वेता खड्काले यस विषयमा सामाजिक सञ्जाल र एक टेलिभिजनमार्फत प्रस्ट पार्ने कोसिस गरे पनि यो विषयले अझै निकास पाउन सकिरहेको छैन ।
उता धुर्मुस सुन्तली फाउन्डेसनले पनि काम सम्पन्न गर्न रकम अपुग भएको भन्दै हारगुहार मागेका छन् जसको बारेमा मिश्रित टिप्पणी आइरहेका छन् । के दाताबाट प्राप्त त्यति धेरै रकम अपुग भएकै हो त ? के सबै प्राप्त सहयोग रकमको हिसाब छर्लङ्ग छ त ? यी यस्ता धेरै प्रश्न उब्जेको छ । रामकुमारी झाँक्रीको कडा अभिव्यक्तिले त झनै माहौल अझ बढी तताएको छ । के साँच्चिकै रामकुमारी झाँक्रीले भने जस्तो अरू सँग चन्दा मागेर समाजसेवा गर्नु कत्तिको जायज हो यो भने पाठकहरूले मूल्याङ्कन गर्ने कुरा हो ।