
आउँदो मङ्सिर ४ गते हुन गइरहेको सङ्घीय निर्वाचनमा गुल्मीको क्षेत्र नम्बर-२ मा दुई जना नेताहरूबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । हुनत एमालेमा असन्तुष्ट हुँदै नेकपा (एकीकृत समाजवादी) मा गएकी रामकुमारी झाँक्रीले उक्त निर्वाचन क्षेत्रबाट टिकट पाउँछिन् वा पाउँदिनन् त्यो त पछि नै थाहा होला ।
नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई पार्टीले गुल्मी क्षेत्र नम्बर –२ बाट प्रतिनिधी सभा उमेदवराका लागि सिफारिस गरेको छ।
शनिवार गुल्मीको सदरमुकाम तम्घासमा बसेको सो पार्टीको जिल्ला कमिटी बिस्तारित बैठकले झाँक्रीलाइ उम्मेदवारमा सिफारिस गरेको हो ।
नेकपा एमालेका सचिव गोकर्णराज बिष्ट पनि सोही क्षेत्रबाट सिफारिस भएको हुँदा उनिहरु बीच रोचक टक्कर पर्ने देखिएको छ ।
अहिले हामीले उक्त निर्वाचनमा सत्ता गठबन्धन भर्सेज नेकपा एमालेलाई विभिन्न तथ्याङ्कमार्फत विश्लेषण गर्ने प्रयास गरेका छौँ । यसको लागी हामीले भर्खरै सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ मा वडाध्यक्ष पाएको मत, २०७४ को सङ्घीय निर्वाचनमा उक्त क्षेत्रबाट उठेका उम्मेदवारहरूको मत र त्यसअगाडि २०७४ मा भएको स्थानीय तह सदस्य निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई विश्लेषण गरेका छौं ।
२०७४ को सङ्घीय चुनावमा नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन गरेका थिए तर त्यसअगाडि सम्पन्न भएको स्थानीय चुनावमा भने एमाले, कांग्रेस, माओवादी लगायतका दलहरू एक्ला एक्लै भिडेका थिए ।
मतको विश्लेषणमा जानुभन्दा पहिला उक्त निर्वाचन क्षेत्रमा कुन कुन पालिका र त्यसका वडाहरू समावेश छन् भन्ने कुरा जान्नुपर्ने हुन्छ । गुल्मी जिल्लामा दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् । यहाँ हामीले गुल्मीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर-२ को बारेमा चर्चा गर्दैछौं । उक्त निर्वाचन क्षेत्रमा मालिका, मदाने, धुर्कोट, इश्मा गाउँपालिकाका र मुसिकोट नगरपालिकाका सम्पूर्ण वडाहरू साथै रेसुङ्गा नगरपालिकाका वडा नम्बर १,२,३,४,५ र ६ समावेश छन् ।
कूल ४३ वडा रहेको यस निर्वाचन क्षेत्रमा २०७४ सालको स्थानीय तहमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले ३१, नेपाली कांग्रेसले ११ र नेकपा (माओवादी केन्द्र) ले १ वटा वडा जितेका थिए । उक्त समयमा त्यहाँ वडाध्यक्षको ५५,४३२ मत सदर भएको थियो । मतअनुसार हेर्ने हो भने एमालेले वडाध्यक्षमा २७,४०३ मत पाउँदा कांग्रेसले २१,९६६ मत र माओवादी केन्द्रले ४,६१९ मत पाएको थियो ।
राजनैतिक दल | उम्मेदवारी | निर्वाचित | पाएको मत |
---|---|---|---|
नेपाल कम्युनिस्ट पार्टी (एमाले) | ४३ | ३१ | २७,४०३ |
नेपाली कांग्रेस | ४० | ११ | २१,९६६ |
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) | २९ | १ | ४,६१९ |
राष्ट्रिय जनमोर्चा | ५ | ८७१ | |
राष्ट्रिय प्रजातन्त्र पार्टी | १२ | ३५९ | |
स्वतन्त्र | १२ | १४१ | |
नयाँ शक्ति पार्टी,नेपाल | ८ | ५६ | |
नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) | १ | १० | |
नेपाल परिवार | २ | ७ | |
कूल जम्मा | १५१ | ४३ | ५५,४३२ |
त्यसपछि भएको सङ्घीय निर्वाचनमा नेकपा एमालेका गोकर्ण राज विष्ट ३४ हजार ४१८ मतका साथ निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र बहादुर के.सीले २०,१५७ मत पाए ।
२०७४ को स्थानीय तहमा झन्डै २२ हजार मत पाएको कांग्रेसले सङ्घीय निर्वाचनमा २० हजार मत पायो । स्थानीय तहमा २७ हजार ४०३ मत पाएको एमालेले सङ्घीय निर्वाचनमा ३४ हजार ६१४ मत पायो यसको मुख्य कारण माओवादी केन्द्रको ४ हजार ६०० मत विष्टलाई गएको देखिन्छ भने कांग्रेसको झण्डै दुई हजार मत पनि विष्टले नै तानेको देखिन्छ ।
उम्मेदवारको नाम | लिङ्ग | राजनैतिक दल | पाएको मत | स्थान | कैफियत |
---|---|---|---|---|---|
गोकर्ण राज विष्ट | पुरुष | नेपाल कम्युनिष्ट पार्टी (एमाले) | ३४,६१८ | १ | विजयी |
चन्द्र बहादुर के.सी | पुरुष | नेपाली काँग्रेस | २०,१५७ | २ | |
रामेश्वर खत्री | पुरुष | राष्ट्रिय जनमोर्चा | ४५३ | ३ | |
गणेश कुवँर | पुरुष | नयाँ शक्ति पार्टी नेपाल | २९६ | ४ | |
पदम थापा मगर | पुरुष | मंगोल नेशनल अर्गनाइजेसन | १९३ | ५ | |
कृष्ण बहादुर सर्तुङी | पुरुष | संघीय समाजवादी फोरम नेपाल | ७३ | ६ | |
चुरामणि भण्डारी | पुरुष | स्वतन्त्र | २७ | ७ | |
गिता पाण्डेय | महिला | स्वतन्त्र | २२ | ८ | |
गीता पाण्डे | महिला | स्वतन्त्र | १२ | ९ | |
५५,८५१ |
२०७९ मा खस्कियो एमाले
यो पाँच वर्षको अवधिमा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा फुट्यो भने एमालेबाट असन्तुष्ट भएका नेताहरूले नेकपा (एकीकृत समाजवादी) नाम गरेको दल दर्ता गरे । सत्ता गठबन्धनसँग मिलेर स्थानीय तह निर्वाचनमा सहभागी भएको एकीकृत समाजवादीले प्रमुख पदमा २० जना, उपप्रमुख पदमा २३ जना, वडाध्यक्षमा १९० जना, महिला सदस्य १८४ जना, दलित महिला सदस्यमा १८० जना र खुला सदस्य ३९० गरी कूल ९८७ जना जनप्रतिनिधिहरू निर्वाचित गर्न सफल भयो ।

गुल्मी क्षेत्र नम्बर २ मा रहेका ४३ वडामध्ये कुनैमा पनि एकीकृत समाजवादीले खाता खोल्न सकेन । चार वडाध्यक्षमा उक्त पार्टीबाट उम्मेदवारी परेको भएतापनि कसैले पनि जित निकाल्न सकेनन् । ती चार वडाध्यक्षले पाएको कूल मत भने जम्मा ६५८ छ ।

२०७४ मा ३१ वडा जित्न सफल भएको एमाले २०७९ मा १७ वडामा खुम्चियो भने अघिल्लो निर्वाचनमा ११ वटा वडा जितेको नेपाली कांग्रेस यस पटक भने २५ वटा वडा जित्न सफल भयो । माओवादी केन्द्रले भने दुवै निर्वाचनमा समान एक/एक वडा मात्र जित्यो ।
वडाध्यक्षले पाएको मत हेर्ने हो भने अहिलेको चुनावमा त्यहाँ एमालेले नै सर्वाधिक मत ल्याएको देखिन्छ । एमालेले ३०,८७२ मत पाउँदा, कांग्रेसले २९,८२१ मत पाएको छ भने माओवादी केन्द्रले १,८४१ मत । २०७४ को स्थानीय तहको तुलना गर्दा त्यहाँ एमाले र कांग्रेसको भोट बढेको देखिन्छ भने माओवादी केन्द्रको र राष्ट्रिय जनमोर्चाको मत घटेको छ । राष्ट्रिय जनमोर्चाले २०७४ सालमा उक्त क्षेत्रमा ८७१ मत पाएकोमा अहिले जम्मा ५६ मत पायो ।
राजनैतिक दल | उम्मेदवारी | निर्वाचित | पाएको मत |
---|---|---|---|
नेपाली कांग्रेस | ३९ | २५ | २९,८२१ |
नेपाल कम्युनिस्ट पार्टी (एमाले) | ४२ | १७ | ३०,८७२ |
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) | ९ | १ | १,८४१ |
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) | ४ | ६५८ | |
स्वतन्त्र | ३७ | १३३ | |
राष्ट्रिय प्रजातन्त्र पार्टी | ६ | १०१ | |
राष्ट्रिय जनमोर्चा | ४ | ५६ | |
मंगोल नेशनल अर्गनाइजेसन | २ | २४ | |
जनता समाजवादी पार्टी | २ | ७ | |
कूल जम्मा | १४५ | ४३ | ६३,५१३ |
गठबन्धन भित्रका सबै दलहरूका वडाध्यक्षले यस क्षेत्रमा पाएको मत जोड्ने हो भने एमालेको भन्दा १,५०४ मत बढी छ । तर २०७४ को सङ्घीय चुनावमा नेपाली कांग्रेसको दुई हजार मत पाएका विष्टले यो चुनावमा कति भोट पाउलान् त्यो थाहा पाउन मङ्सिरको पहिलो सातासम्म कुर्नुपर्ने हुन्छ ।
गुल्मी क्षेत्र-२ मा गठबन्धनबाट नेकपा (एस) ले पाउँला त सिट ?
स्थानीय चुनावमा २५ वडा जितेको र अघिल्लो सङ्घीय निर्वाचनमा पनि २० हजार मत ल्याएको नेपाली कांग्रेसले सङ्घीय निर्वाचनमा उक्त क्षेत्र गठबन्धन भएकै कारण नेकपा एस लाई छाड्ला त भन्ने अहम् प्रश्न हो । गठबन्धन भित्र रहेका दलहरू मध्ये कसले कति सिट पाउने भनेर सिट बाँडफाँट कार्यदल नै बनेको छ । उक्त कार्यदलले सिट बाँडफाँड सम्वन्धि प्रतिवेदन बुझाउनेछ ।
गठबन्धनमा भएपछि नेकपा एसले सम्भवत दुई अंक (१० वा सो भन्दा बढी) सिट पाउन सक्ने आँकलन गरिएको छ । तीमध्येमा एक सिट झाँक्रीको हुनसक्ने सम्भावना बलियो छ । गठबन्धनबाट नेकपा एसले उक्त क्षेत्रको टिकट पायो भने रामकुमारी झाँक्री पहिलो दावेदार हुन् । एमालेले उक्त क्षेत्रबाट उठाउने भनेकै गोकर्ण राज विष्टलाई हो ।
केही समयदेखि विष्ट काठमाडौंबाट चुनाव लड्ने चर्चा हुँदै आएको थियो । आगामी निर्वाचनमा आफू गुल्मी–२ बाट नै निर्वाचन लड्ने बताउँदै उनले काठमाडौंबाट चुनाव लड्ने हल्ला सत्य नभएको बताएका छन् । पार्टीमा लोकप्रिय नेता मानिएका उनले आफू जन्मभूमि भएको निर्वाचन क्षेत्रबाहेक अन्य क्षेत्रमा नजाने दाबी गरेका छन् ।

विष्ट २०५६ को प्रतिनिधि सभा निर्वाचनमा र २०७० को संविधान सभा निर्वाचनमा गुल्मी-३ बाट निर्वाचित भएका थिए भने २०७४ को प्रतिनिधि सभा निर्वाचनमा गुल्मी-२ बाट निर्वाचित भएका हुन् । धेरै मतान्तर कायम गरेर निर्वाचित हुने सासंदमा विष्ट २१ नम्बरमा पर्छन् । उनले नेपाली कांग्रेसका चन्द्र बहादुर के.सीलाई १४ हजार ४६१ मतान्तरले पराजित गरेका हुन् ।
पहिला २४० निर्वाचन क्षेत्र रहेकोमा देश सङ्घीय प्रणालीमा गइसकेपछि त्यसलाई १६५ मा झारिँदा गुल्मीमा रहेका तीनवटा निर्वाचन क्षेत्र दुईवटामा सिमित भएका हुन् । विष्ट २०६८ सालमा ऊर्जा मन्त्री र २०७४ देखि २०७६ सम्म श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्री भइसकेका छन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र, कुन जिल्लामा कति
स्थानीय तह निर्वाचन सकिएसँगै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि...
शनिवार, असार १८ २०७९२० महिना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व सम्हालेका विष्ट २०७६ साल मंसिर ४ गते भएको भएको मन्त्रिपरिषद् पुनर्गठनसँगै बाहिरिए। मलेशियाको रोजगारीमा वर्षाैदेखि कायम सिन्डिकेट हटाउने र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने प्रयास गरेका विष्टलाई स्वार्थ समूहको प्रभावमा श्रम रोजगारी मन्त्रीबाट हटाइएको विष्टनिकटहरू बताउँछन् । तात्कालिन नेकपा सरकारले विष्टलाई मन्त्रीबाट हटाएर उनको स्थानमा माओवादी केन्द्रबाट निर्वाचित भएका रामेश्वर राय यादवलाई श्रममन्त्री नियुक्त गरेको थियो ।
त्योभन्दा अगाडि उर्जामन्त्रीबाट बिदा हुँदै मन्त्रालयबाट उनी निकै लोकप्रिय बन्न सफल थिए। विद्युत महसुल नतिर्ने सरकारी कार्यालयहरुको विद्युत लाईन काटेर चर्चा कमाएको छविले गर्दा नै २०७४ को संघीय निर्वाचनमा उनी भारी मतान्तरले विजयी हुन पुगेको धेरैको बुझाई छ।
अहिले विष्ट एमालेको सचिव पदमा छन् भने रामकुमारी झाँक्री पनि नेकपा एसको सचिव पदमा नै छिन् । झाँक्री २०७४ सालमा नेकपा एमालेको समानुपातिक कोटाबाट सांसद भएकी हुन् । एमालेबाट नेकपा एसमा गएपछि उनी २०७८ साल असोज २२ गते सहरी विकास मन्त्री बनिन् । झन्डै नौ महिना मन्त्री बनेकी झाँक्रीले २०७९ साल असार १२ गते मन्त्री पदबाट राजीनामा दिनुपर्यो ।
झाँक्रीका तीन तस्बिर जुन भाइरल बने
रामकुमारी झाँक्रीका तीन वटा तस्बिर निकै भाइरल बने । पहिलो तस्बिर थियो २०७८ साल भाद्र २ गतेको हो । उक्त दिन पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल झन्डै पचास वर्ष आफैँले सङ्घर्ष गरेर हुर्काएको पार्टी एमाले छोडेर नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका थिए । नेपाल गाडीबाट ओर्लिएर आयोगको भवनमा प्रवेश गर्दै गर्दा उनलाई नेतृ रामकुमारी झाँक्रीले हात समातेर आयोग कार्यालयतर्फ डोर्याउँदै लगेकी थिइन् ।

उक्त तस्बिरले सञ्चारमाध्यममा महत्त्वपूर्ण स्थान पायो । मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले ६ महिनामा राजधानीबाट प्रकाशित हुने सात पत्रिकाहरूको अध्ययन गर्दा विभिन्न पत्रपत्रिकामा प्रकाशित फोटोहरू मध्ये युवा नेतृ रामकुमारी झाँक्रीले नेता माधव नेपालको हात समातेर डोर्याएको तस्बिर धेरै मिडियाले प्रकाशित गरेको भनेर उल्लेख गरिएको छ ।
पिर्के सलामी
स्थानीय तह र प्रदेशका मन्त्रीहरूले पिर्के र टेबुल सलामी खाएकी भन्दै सामाजिक सञ्जालमा तीव्र विरोध गर्ने झाँक्रीले सहरी विकास मन्त्री हुँदा गुल्मीमा पिर्के सलामी खाइन ।

२०७८ साल पुस १९ गते उनले पिर्के सलामी खाएको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल बन्यो । केही सञ्चारमाध्यमलाई स्पष्टीकरण दिँदै उनले दैनिक रूपमा स्थानीय तह अन्तर्गत हुने कार्यक्रममा पिर्के सलामी खान नहुने तर औपचारिक कार्यक्रममा यस्तो व्यवस्थालाई अन्यथा लिन नहुने भन्दै आफ्नो बचाउमा लागिन् ।
मन्त्री छाड्दाको त्यो आँसु
असार १२ गते सहरी विकास मन्त्री पदबाट राजीनामा दिएपछि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा रामकुमारी झाँक्री भावुक बनिन् । आँखा टिल्पिल्याउँन थालेपछि उनले टिस्यु पेपरको सहायताले आँसु पुछिन् । मन्त्री पदबाट राजीनामा दिँदै गर्दा आँखाबाट आँसु झारेको भन्दै उनको उक्त तस्बिर पनि निकै भाइरल बन्यो ।
