
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट औपचारिक रुपमा राजीनामा दिएकी छन्। विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ दिए लगत्तै झाँक्रीले राजीनामा दिएकी हुन् ।
औंपचारिक रुपमा राजीनामा र आफ्नो कार्यकालमा भएका कामहरुको विवरण सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री झाँक्री भावुक भएकी छन्।
नेकपा एकीकृत समाजवादीले पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ । त्यसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गर्नुअघि मन्त्रालयले बिदाइ कार्यक्रम राखेको छ ।
कार्यक्रममा सहसचिवले ८ महिना २० दिन भएको कामको फेहरिस्ता सुनाउँदा मन्त्री झाँक्री भने भावुक बनिन् । उनको आँखा आँसुले टिलपिल भएको थियो । झाँक्री भावुक हुँदै आँसु पुछेकी थिइन् । पत्रकार सम्मेलन अघि मन्त्री झाँक्री प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाउन बालुवाटार पुगेकी थिए ।