
नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले आफूले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा सफलतापूर्वक काम गरेको दाबी गरेकी छिन् ।
सोमबार काठमाण्डौमा नेपाल पूर्वाधार पत्रकार समाजसँगको भेटघाट कार्यक्रममा झाँक्रीले आफू मन्त्री हुँदाको वार्षिक प्रगति विवरण अरु मन्त्रालयको भन्दा धेरै राम्रो रहेको दाबी गरेकी हुन् ।
मन्त्री झाँक्रीकै शब्दमा उनी उत्कृष्ट काम गर्न सफल भएकी छिन् । वार्षिक प्रगति विवरणका आधारमा सबै मन्त्रीहरुबीचको तुलनामा आफू पहिलो नम्बरमा परेको उनको भनाई छ । ७० दशमलब १ प्रतिशत राम्रो काम गरेको र यो अरु मन्त्रालयकोभन्दा धेरै भएको झाँक्रीले बताइन् । उनले भनिन्ः आफ्नो कार्यकालको वार्षिक प्रगति विवरणमा राम्रो र उत्कृष्ट काम गर्न सफल भएको छु । वार्षिक प्रगति विवरणमा नम्बर एकमा पर्न सफल भएको थिएँ ।
उपभोक्ता समितिबाट हुने विकास निर्माणको काम रोक्नुभएको थियो, त्यसलाई पछि सर्वोच्च अदालतले उल्ट्याएको थियो नि भन्ने संचारकर्मीको प्रश्नमा झाँक्रीले कुनै जवाफ दिइनन् । उनले भनिन् ‘यसमा मेरो केही पनि प्रतिक्रिया छैन । अब मलाई केही भन्नु नै छैन यो विषयमा ।’
झाँक्रीले राजनीति र अन्य मन्त्रालयसँग सम्बन्धित कामको चर्चा धेरै हुने भए पनि सहरी विकास मन्त्रालयले गर्ने पूर्वाधार विकासका कामको चर्चा थोरै हुने गरेको बताइन् ।
फरक प्रसंगमा उनले बजेट जहिले पनि राम्रो छ भन्ने तर कार्यान्वयनको पाटो फितलो हुने गरेकोमा असन्तुष्टी जनाइन् । बजेट राम्रो नभै कार्यान्वयन गर्न सकिने हुनुपर्ने झाँक्रीको तर्क छ । उनले नेपालमा बजेट खर्च गर्ने प्रक्रिया नै गलत भएकाले लक्ष्य हासिल हुन नसकेको आशय व्यक्त गरेकी छिन् ।।