कर्णाली प्रदेशका विभिन्न जिल्लामा बिहीबार ३० जना कोरोना संक्रमित थपिएका छन्।
सुर्खेतका ५, दैलेखका २४ जना र सल्यानका १ जना कोरोना संक्रमित थपिएका हुन्। प्रदेश अस्पताल सुर्खेत र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा ३० जनामा कोरोना पोजेटिभ देखिएको हो।
यी मध्ये ३ जना बालवालिका रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। दैलेखको आठविस नगरपालिका–१ का ४ र ५ वर्षीय बालक, सुर्खेतको चौकुने गाउँपालिका–७ का ३ वर्षीया बालिकामा कोरोना पोजेटिभ देखिएको महाशाखाले जनाएको छ।
बिहीबार थपिएका कोरोना संक्रमितमध्ये सुर्खेतको भेरीगंगा नगरपालिकाका ३ जना पुरुष, चौकुने गाउँपालिकाका १ बालिका, १ जना महिला, सल्यानको छत्रेश्वरी गाउँपालिकाका १ जना पुरुष रहेको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
यस्तै दैलेखको आठविस नगरपालिकाका २ बालकसहित ८ जना पुरुष, २ जना महिला, महाबु गाउँपालिकाका १२ जना पुरुष रहेका तिवारीले जानकारी दिए। योसँगै कर्णालीमा कोरोना संक्रमण हुनेको संख्या १ हजार ८१३ पुगेको छ।
बिहीबारसम्म १ हजार ५५२ जना डिस्चार्ज भएका छन्। अब सक्रिय बिरामी २५५ जना विभिन्न अस्पताल तथा आइसोलेशनहरुमा रहेर उपचार गराइरहेका छन्। कर्णाली प्रदेशका ५ जनामा मृत्युपछि कोरोना पुष्टि भएको छ।