
कर्णाली प्रदेशको जुम्ला जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित आइतबार निको भएर घर फर्केपछि जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको हो ।
आइसोलेसनमा बाँकी रहेका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमितको सङ्ख्या शून्य भएको प्रतिष्ठानका कोरोना फोकल पर्सन प्राडा धीरज गुरुङ बताउँछन् ।
सङ्क्रमित शून्य भएपछि कोभिड विरुद्धको अभियानमा काम गर्ने सबै स्वास्थ्यकर्मीलाई आइतबार सम्मान गरिएको थियो । जिल्लामा सबै उपलब्ध नहुने भएकाले साङ्केतिक रुपमा उपलब्ध स्वास्थ्यकर्मीलाई सम्मानसमेत गरिएको हो । जिल्ला प्रशासन कार्यालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको समन्वयमा कोरोनाविरुद्ध लड्ने प्रतिष्ठान र जनस्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो ।
जुम्ला जिल्लामा संकलन गरिएका नमूना परीक्षण गरिएकामध्ये ६९ जनालाई कोरोना सङ्क्रमण देखिएको थियो । उनीहरुमध्ये सबैजना निको भएर घर फर्किसकेका छन् ।
७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको २०७६/७७ को कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय, जुम्ला अति उत्कृष्ट ‘ए’ ग्रेडमा पर्न सफल भएको छ ।