नेकपामा विवाद चरण विन्दुमा पुगेको बेला अध्यक्ष प्रचण्डसहितका तीन शीर्ष नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
प्रचण्डसँगै पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र माधव नेपाल शीतल निवास गएका हुन् ।
प्रचण्ड पक्षले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने र प्रधानमन्त्री हटाउने षडयन्त्र गरिरहेको आरोप प्रधानमन्त्रीले लगाइरहेका बेला यसबारे प्रष्ट पार्न प्रचण्ड सहितका नेताहरु शीतल निवास पुगेको स्रोतले जनाएको छ ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेका नेताहरू राष्ट्रपति भण्डारीलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
संविधानअनुसार तत्काल संसदमा रहेका एक चौथाइ सांसदले राष्ट्रपतिमाथि महाभियोगको प्रस्ताव ल्याउन सक्ने व्यवस्था छ ।
र यो पनि पढ्नुहोस् : राष्ट्रपतिलाई महाभियोग लगाउने रणनीतिमा नेकपाको असन्तुष्ट समूह ? संविधानमा के छ व्यवस्था
प्रधानमन्त्रीले शनिवार साँझ राष्ट्रपतिसँग भेट गरेपछि मन्त्रिपरिषद सदस्यहरुसँग परामर्श गरेका थिए । त्यसक्रममा उनले राष्ट्रपतिविरुद्ध समेत खुमलटारमा प्रचण्ड पक्षधर नेताहरुले षडयन्त्र गरेको आशय व्यक्त गर्दै जुनसुकै कदम चाल्नुपर्ने बताएका थिए ।
सबै मन्त्री तथा राज्यमन्त्रीहरुलाई वालुवाटार बोलाएर ओलीले पार्टीभित्रको विवाद तत्काल समाधान हुने संकेत नदेखिएको भन्दै खतराको घण्टी बजेको जानकारी गराएको त्यहाँ सभागी एक मन्त्रीले केटीएम दैनिकलाई बताएका थिए ।
प्रधानमन्त्रीलाई सम्झाउनका लागि पनि तीन नेताले राष्ट्रपतिमार्फत आग्रह गर्ने सम्भावना रहेको माधव नेपाल निकट एक नेताले बताए । केपी ओलीले हठ नछाड्दा पार्टी फुट्ने र यसले राष्ट्रपति तथा प्रधानमन्त्रीलाई समेत अप्ठेरो पर्ने भएकाले राष्ट्रपतिले ओलीमाथि दबाब बढाउन् भन्ने चाहेको उनले बताए ।
यसअगाडी प्रधानमन्त्रीले पार्टीकै साथीहरुले राष्ट्रपति हटाउन महाभियोगको प्रस्ताव ल्याउने तयारी गरिरहेको थाहा पाएर आफूले संसद अधिवेशन अन्त्यको निर्णय गरेको बताएका थिए । ‘आफ्नै पार्टीका नेताले आफ्नै राष्ट्रपतिलाई हटाउन प्रयास गर्नुहुन्छ, यो कस्तो संगठन हो ?कस्तो विधी हो, कसरी संगठन चल्दैछ यसवाट पनि प्रस्ट बुझ्न सकिन्छ,’ उनले वैठकमा भनेका थिए ।