
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ताधारी गठबन्धन कुन दिन भत्किन्छ थाहा नभएको बताएका छन् ।
नेकपा (एस) निकट भातृ सङ्गठन अनेरास्ववियूको स्थायी कमिटीको कीर्तिपुरमा दोस्रो बैठक उद्घाटन गर्ने क्रममा उनले सत्ता गठबन्धनको आयु धेरै नभएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रपतिको चुनावबाट यो सत्ताधारी गठबन्धनको भविष्य टुङ्गो लाग्ने र त्यो एक हप्ता भित्र हुने पनि दाबी गरे ।
सत्ताधारी गठबन्धनमा संविधान विरोधी देखि संविधानका पक्षपाती सबै खाले शक्तिहरू भएका कारण उक्त गठबन्धन लामो नटिक्ने अध्यक्ष नेपालले तर्क राखे ।
यति बेला कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको सभा हलमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको स्थायी कमिटीको बैठक बसिरहेको छ ।
बैठकले चैत ५ गते हुने स्ववियू निर्वाचनमा आफ्नो सङ्गठन कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना तर्जुमा गर्ने अनेरास्ववियूका प्रवक्ता मिलन राईले केटिएम दैनिकलाई बताए ।