देशका विभिन्न स्थानमा आज दिपावली गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकबाट नेपालको संविधान (दोस्रो) संशोधनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्शा अङ्कित निशान छाप दुई तिहाइ बहुमतबाट पास भएको खुशियालीमा विराटनगरको जनआन्दोलन चोकमा आज साँझ दीप प्रज्वलन गरिएको छ ।
राष्ट्रिय युवा सङ्घ र अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन मोरङद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गुरु बराल, महेश रेग्मी, प्रदेशसभा सदस्य सावित्रा रेग्मी, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेतीलगायत नेता कार्यकर्ताले नेपालको नक्शामा मैनबत्ती बाली दीप प्रज्वलन गर्नुभएको थियो ।
सो अवसरमा सर्वसाधारणले पनि दीप प्रज्वलन गरेका थिए । यसैगरी जिल्ला प्रशासन कार्यालय मोरङ आगाडि, वरागाछीसमेतमा नक्शा अङ्कित निशान छाप पारित भएको खुशीमा दीप प्रज्वलन गरिएको छ । खुशियाली मनाउन सर्वसाधारण नागरिकले आफ्नो घरमा दीप प्रज्वलन गरेका छन् ।
नेपालको नयाँ राजनीतिक नक्शालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको खुशीयालीमा नेकपा बाजुराले मार्तडीमा दीप प्रज्वलन गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेतासहित युवाहरुले नेपालका लिपुलेक, लिम्पियाधुरा र कालापानी नक्शामा समावेश भएको विधेययक प्रतिनिधिसभाबाट पारित भएपछि बेलुकी जिल्ला सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरेको नेकपा प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिए ।
नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित भएको खुशियालीमा आज तनहुँको दमौलीमा दीप प्रज्वलन गरिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यास नगर कमिटीले दुई तिहाइभन्दा बढी मतले संविधान संशोधन विधेयक पारित भएको खुशियालीमा दीप प्रज्वलन गरेको हो ।
त्यस्तै, कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभाग समेटेर जारी गरिएको नेपालको नयाँ नक्शा र निशान छापको प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको खुशियालीमा स्याङ्जामा दीपावली गरिएको छ ।
जिल्ला सदरमुकामस्थित शहीद चोकमा दीपावली गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष सूर्यप्रसाद गैह्रेले जानकारी दिए । यसैगरी वालिङ उद्योग वाणिज्य सङ्घले पनि दीपावली गरेको छ ।
आज दिउँसो १ः३० बजे शुरु भएको प्रतिनिधिसभाको बैठकमा संशोधन विधेयकमाथिको दफाबार छलफलका क्रममा विभिन्न पार्टीका शीर्ष नेतासहितले धारणा राखेपछि सभामुख सापकोटाले साँझ करिब ५ः०० बजे निर्णयार्थ प्रस्तुत गरेका थिए ।
सभामुखबाट दुई तिहाइभन्दा बढी मतले संशोधन पारित भएको घोषणा गर्दा सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै लयमा समर्थन र स्वागतको ताली बजाएका थिए । संशोधन विधेयक ल्याउँदा सरकारले ती भूमि आफ्नो भएका बारेमा प्रमाण पेश नगरेको भनी सांसद सरिता गिरीले पेश गरेको संशोधन प्रस्तावलाई सभामुख सापकोटाले निर्णयार्थ प्रस्तुत गर्न अनुमति नदिएपछि उनि मतदान हुनुअघि नै बैठकबाट बाहिरिएको थियो ।
मतदानमा सहभागी २५८ नै सांसदले नयाँ नक्साका पक्षमा मत जाहेर गरेपछि अतिक्रमित ती भूमि फिर्ता ल्याउन भारतसँग वार्ताका लागि नेपाल सरकारलाई ऊर्जा र बल मिलेको छ । त्यसैको सङ्केतका रुपमा बैठक सम्पन्न भएपछि बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले अब भारतसँग वार्ता हुने प्रतिक्रिया दिनुलाई लिन सकिन्छ ।