
कर्णाली प्रदेशमा गरिएको कोरोना परिक्षणमा अहिलेसम्म ६ सय ४१ जना सङक्रमित फेला परेका छन् ।
कर्णाली प्रदेशका १० जिल्लामध्ये (रुकुम पश्चिम बाहेक) ९ जिल्लामा कोरोना संङक्रमण फैलिएको छ । सो प्रदेशमा ३२ हजार ८२ जना क्वारेन्टाइनमा रहेका छन् ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले उपलव्ध गराएको तथ्यांकअनुसार सबैभन्दा धेरै दैलेखमा ३ सय ५७ जना, सल्यानमा १ सय १९ जना, सुर्खेतमा ९१ जना, कालिकोटमा २८ जना, जुम्लामा २२ जना, जाजरकोटमा ५ जना, मुगुमा २ जना र हुम्ला र डोल्पामा १-१ जना संङक्रमित फेला परेका हुन् ।
त्यस्तै स्थायी ठेगाना अन्य जिल्ला भएतापनि व्यापार र रोजगारीको शिलशिलामा कर्णाली प्रदेशमा रहेका अन्य १५ जनामा पनि कोरोना सङक्रमण देखिएको छ । जसमध्ये अछामका १० जना छने भने बझाङ्ग, बाजुरा, दोलखा, रामेछाप र गोरखाका १-१ जनामा संङक्रमण फैलिएको छ ।
स्वास्थ्य मन्त्रालयले प्रदेशको विवरण सार्वजनिक गर्ने गरेतापनि जिल्लागत विवरण भने सार्वजनिक गर्न छाडेको छ । यसले गर्दा कुन जिल्लामा कति सङक्रमित छन् कति निको भए, कति उपचार गराइरहेका छन् र कुन जिल्लामा कति जनाको निधन भयो भन्ने आधिकारिक विवरण पाउन सकिएको छैन ।
तथ्यांकमा एकरुपता छैन
प्रदेश र केन्द्रको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने तथ्यांकमा पनि एकरुपता नभएको पाइएको छ । सामाजिक विकास मन्त्रालयले कर्णालीमा कोरोना संक्रमितको संख्या ६ सय ४१ बताइरहँदा केन्द्रले भने कर्णाली प्रदेशको संख्या ६ सय ३३ पुगेको बताएको छ । केन्द्र र प्रदेशको संख्यामा देखिएको ८ जनाको फरक के हो खुट्याउन सकिदैन । कर्णाली प्रदेशमा भेटिएका अन्य जिल्लाका १५ जना घटाउँदा पनि तथ्यांकले मेल खाँदैन ।
नाम नखुलाइदिने सर्तमा केटीएम दैनिकको सम्पर्कमा आएका एक तथ्यांकशास्त्री भन्छन् नेपालमा मात्र होइन पुरै दक्षिण एसियामा तथ्यांकमा एकरुपता (Consistency) छैन । कोरोनाको मात्रै होइन सरकारले सार्वजनिक गर्ने अन्य विविध तथ्यांकहरुमा पनि एकरुपता पाइदैन ।