सत्तारुढ दल नेपाली कांग्रेसका चर्चित युवा नेता तथा सांसद गगनकुमार थापा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संसदीय सञ्जालको बोर्ड सदस्य पदमा निर्वाचित भएका छन् ।
नेता थापा २ वर्षका लागि बोर्ड सदस्यमा निर्वाचित भएका छन् । थापाको कार्यकाल सन् २०२३ सम्म रहने जनाइएको छ । सञ्जालको बोर्डमा १४० भन्दा बढी देशका सांसदको प्रतिनिधित्व रहन्छ ।
सदस्य निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै सांसद थापाले २ वर्षसम्म समावेशी विकासका लागि काम गर्न आफू उत्साहित रहेको बताएका छन् ।
कांग्रेसका प्रतिनिधिसभा सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री थापा सन् २०२१–२३ सम्मका लागि द पार्लियामेन्टरी नेटवर्क अन वल्र्ड बैंक र आइएमएफको बोर्ड सदस्यमा निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसबाट उम्मेदवार भई काठमाडौँको क्षेत्र नं ४ बाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । थापा प्रतिनिधिसभाका लागि तेस्रो पटक सांसद हुन् । पहिलो पटक समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका थापा बाँकी दुई पटक भने प्रत्यक्ष निर्वाचित भएका हुन् ।