नेपाल निर्माण व्यवसायी महासङ्घका संस्थापक उपाध्यक्ष राधाकृष्ण शर्माको उपचारको क्रममा आज निधन भएको छ ।
महासङ्घको स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान दिएका ८६ वर्षीय शर्माको निधनबाट मर्माहत भएको महासङ्घले जनाएको छ ।
उनी शर्मा एण्ड कम्पनी प्रालिका संस्थापक समेत थिए । उनले महासङ्घमा संस्थापक उपाध्यक्षसहित तीन कार्यकाल कार्य समिति उपाध्यक्ष र दुई पटक सल्लाहकारको भूमिका निर्वाह गरेका थिए ।
शर्मा महासङ्घले प्रदान गर्ने प्रतिष्ठित ‘एफक्यान ग्लोरी अवार्ड’ बाट समेत सम्मानित हुनुभएको थियो ।
पशुपति आर्यघाटमा शर्माको शवमा महासङ्घका अध्यक्ष रवि सिंहले महासङ्घको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे।
महासङ्घका महासचिव रोशन दाहालले आजै शोक वक्तव्य मार्फत् शर्माको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनप्रति हार्दिक समवेदना अर्पण गरेका छन् ।