
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर विकास समितिका अध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन गराएको छ ।
आइतबार महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्ष गोपाल रसाईलीबिरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाकारी दिए ।
महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी जग्गा विधि र प्रक्रिया विपरीत व्यक्ति विशेषको नाममा दर्ता स्रेस्ता कायम गरी/गराई सरकारी जग्गा वितरण गरेको आयोगले आरोप लगाएको थियो ।
पौडेलका अनुसार, उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ज) को कसुरमा बिगो रु. २,२१,९७,४००।- कायम गरी विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको थियो । तर विशेष अदालतले मिति २०८१ वैशाख २४ गतेको फैसलाबाट आंशिक सफाई दिएकोले उपरोक्त फैसलाउपर आइतबार सर्वोच्चमा पुनरावेदन गरिएको हो ।