काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बिचौलियासँग जोडिएका सबै प्रकरणमा निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्। अनुसन्धानमा सरकारलाई कांग्रेसको पूर्ण साथ रहने बताए पनि अनुसन्धानको निष्पक्षता र विश्वसनीयतामाथि उनले प्रश्न उठाएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा थापाले अनुसन्धान गर्ने निकायभित्रैका व्यक्तिको संलग्नतासम्बन्धी विवरण सार्वजनिक हुन थालेको भन्दै अनुसन्धान चयनात्मक ढंगले अघि बढेको हो कि भन्ने आशंका व्यक्त गरे। सार्वजनिक भएका विवरणकै आधारमा कसैलाई दोषी ठहर गर्न नमिल्ने उल्लेख गर्दै उनले सबै पक्षमाथि प्रमाणका आधारमा छानबिन हुनुपर्ने बताए।
उनले विगतमा गठन भएका विभिन्न छानबिन समितिका प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै आवश्यकताअनुसार प्रतिवेदन प्रयोग गर्ने र नचाहिएका प्रतिवेदन थन्क्याउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए। गृहमन्त्रीको सम्पत्ति, भदौ २३ र २४ गतेका घटना तथा सुनसरीको कप्तानगञ्जलगायत विषयमा गठित समितिका प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनको माग थियो।
थापाले अनुसन्धान प्रक्रियाको निगरानी गर्न सञ्चारमाध्यम, नागरिक समाज र राजनीतिक दललाई आग्रह गरे। कांग्रेसले यस विषयलाई संसद् र संसदीय समितिमार्फत प्रभावकारी रूपमा उठाउने पनि उनले बताए।
यसैबीच, थापाले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र निर्भीकतामाथि पनि प्रश्न उठिरहेको बताए। प्रधानमन्त्री कार्यालयको हवाला दिँदै अदालतमा विचाराधीन मुद्दाबारे कार्यपालिकाको चाहना व्यक्त गरिएको भन्ने विवरण सार्वजनिक हुनु र न्यायालयसँग जोडिएका आर्थिक लेनदेनका विषय बाहिर आउनुले न्यायपालिकाको स्वतन्त्रतामाथि आशंका पैदा गरेको उनको भनाइ थियो।
न्यायपालिकाभित्रका विकृति र गलत कार्यमा संलग्नलाई कारबाही गर्नुपर्नेमा जोड दिँदै उनले न्यायालय स्वतन्त्र, निष्पक्ष र निर्भीक भए मात्रै लोकतन्त्र बलियो हुने बताए। न्यायपालिकाको सुधारका लागि कांग्रेस सबै राजनीतिक दलसँग संवाद गर्न तयार रहेको उल्लेख गर्दै उनले सार्वजनिक भएका विषयलाई राजनीतिक स्वार्थ र पूर्वाग्रहको हतियार बनाउन नहुने धारणा राखे।
न्यायपालिकाप्रति जनताको आस्था कायम राख्दै न्यायमूर्तिहरूले निर्भीक भएर काम गर्न सक्ने वातावरण सुनिश्चित गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए।