नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई भिसा आउन ढिलाइ हुँदा दुई वटा फ्रेन्चाइज क्रिकेट खेल्नका लागि बेलायत जान कठिनाइ भएको छ । टी–२० ब्लास्ट र द हन्ड्रेड खेल्न जाने तयारीमा रहेका सन्दीपले अझै भिसा पाएका छैनन् । बेलायतको भिसा आउन ढिलाइ हुँदा सन्दीपलाई समस्या आइपरेको हो । बेलायतले नेपाललाई रेड जोनमा राखेका कारण पनि भिसा आउन ढिलाइ भएको हो ।
सन्दीप दुवै फ्रेन्चाइज खेल्न यसै साता बेलायततर्फ उड्नु पर्ने भए पनि अझै भिसा आइपुगेको छैन । तर भिषा आउन नै ढिलो भएपछि सन्दिपको यूके जाने प्रक्रिया ढिलो भएको छ ।
सन्दीपले मङ्गलबार भिसाको प्रक्रिया कठिन भएको भन्दै सामाजिक सञ्जाल ट्विटरमा ट्विट गरेका छन् । भिएफएस ग्लोबललाई मेन्सन गरेर एक महिनाअगाडि नै बेलायतको भिसाका लागि प्रक्रिया गरेपनि अहिलेसम्म नपाएको र आफ्नो फ्लाइटको समय आइसकेको उनले ट्विटरमा उल्लेख गरेका छन् । सन्दीपको सो ट्विटमा भिएफएसले जवाफ दिँदै उक्त समस्यालाई इमेलमा लेखेर पठाउन भनेको छ ।
‘टी–२० ब्लास्ट र द हन्ड्रेडमा भाग लिन मैले युके भिसाका लागि आवेदन दिएको एक महिना भन्दा बढी भयो । मेरो उडानको दिन नजिकै आउँदैछ र अपडेटका लागि प्रत्येक पटक भिएफएसको अफिसमा फोन गर्दा कहिले पनि स्पष्ट जवाफ पाउँदिनँ,’ उनले लेखेका छन् ।
सन्दीपले भाइटालिटी टी–२० ब्लास्टमा वर्सेस्टसायर ¥यापिडबाट खेल्दैछन् । टी–२० ब्लास्ट जुन ९ बाट सुरु हुँदैछ । टी–२० ब्लास्टको ब्रेकमा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबलमा आबद्ध छन् । ‘द हन्ड्रेड’ जुलाई २२ देखि अगस्ट २१ सम्म हुने तय छ ।