ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेका छन् । ललितपुरले विराटनगर सिटी एफसीलाई ४–० गोल तथा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष चारमा स्थान बनाएका हुन् । विराटनगर ६ खेलमा ७ अंक जोडेर पाँचौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।
दशरथ रंगशालामा भएको खेलमा धनगढी एफसीलाई १–० गोलले पराजित गर्दै बुटवल प्ले अफमा प्रवेश गरेको हो । बुटवलका लागि निर्णायक गोल सुमन लामाले खेलको ८० औँ मिनेटमा गरेका हुन् ।
बुटवल लिग चरणको ६ खेलमा ८ अंक जोड्दै चौथो स्थानमा कायम रहन सफल भयो । आइतबार लिग चरणको अन्तिम खेलमा चितवन र काठमाडौँ भिड्ने छन् । धनगढी र काठमाडौँबीच पहिलो क्वालिफायर तथा ललितपुर र बुटवलबीच दोस्रो क्वालिफयर खेल हुनेछ ।
धनगढी १० अंक जोडेर शीर्ष स्थानमा रहँदा समान १० अंक नै भएपनि काठमाडौं हेड टु हेडमा दोस्रो स्थानमा छ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
र यो पनि