काठमाडौं। धम्की दिएर नेपाली कांग्रेसका सभापति गगन कुमार थापा लगायत विरुद्धमा बोल्न दबाब दिएको भन्दै जीवन रक्षाको माग गरी इनम सापकोटाले आफ्नी श्रीमति कबिता सापकोटामार्फत राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गराएका छन् ।
आफूलाई नियन्त्रणमा लिएर शारीरिक तथा मानसिक यातना दिई परिवार समेतलाई ज्यान मार्ने धम्की दिएर कांग्रेस सभापति थापालगायत विभिन्न राजनीतिक नेता, व्यवसायी तथा पूर्वप्रधानन्यायाधीशविरुद्ध बयान दिन दबाब दिएको सापकोटाले श्रीमतिमार्फ आयोगमा दिएको उजुरीमा उल्लेख छ । इनमको बयान भन्दै कांग्रेसको आधिकारिताका लागि १८ करोड दिएको भन्दै अडियो सार्वजनिक गरिएको थियो ।
अडियो प्रधानन्त्रीका सल्लाहकारको योजनामा सुनियोजित रुपमा रेकर्ड गरिएको भन्दै नेपाली कांग्रेसले खण्डन गरेको थियो ।सरकारले बिचौलियाको आरोपमा इनम सापकोटलाई पक्राउ गरेको थियो।
इनमकी श्रीमतिले मानव अधिकार आयोगमा उजुरी दर्ता गरे पछि धम्की दिएर बयान दिन लगाएको तथ्य बाहिरिएको छ । आयोगमा दर्ता भएको निवेदन अनुसार प्रहरीले आफूसँग रहेका दुईवटा मोबाइल फोन खोसेर आँखामा पट्टी बाँधी अज्ञात स्थानमा लगेको उल्लेख छ । ‘असोज १४ गतेदेखि १५ गते साँझसम्म आँखामा कालोपट्टी बाँधेरै राखेर विभिन्न विषयमा सोधपुछ गरिएको ,’ इनले श्रीमतिपमार्m आयोगमा दर्ता गरेको निवेदनमा उल्लेख छ ।
निवेदनमा कांग्रेस सभापति थापासहित पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर तथा सर्वोच्च अदालतमा कार्यरत केही न्यायाधीशविरुद्ध प्रमाण र बयान दिन आफूलाई दबाब दिइएको उल्लेख छ ।
आफूले जानकारीसमेत नभएका विषयलाई आफ्नो बयानका रूपमा प्रस्तुत गर्न खोजिएको निवेदकको आरोप छ ।
यसरी नियोजित रूपमा आफूलाई प्रयोग गर्न खोजिएको उनको दाबी छ । ‘तिमीविरुद्ध हाम्रो व्यक्तिगत केही छैन, यी व्यक्तिहरूका विषयमा प्रमाण र बयान दिए छाडिदिन्छौँ, नत्र तिमी मात्र होइन, तिम्रो परिवारलाई समेत नराम्रो हुन्छ’ भन्दै धम्की दिइएको निवेदनमा उल्लेख छ । इनमले आफूलाई तीमध्ये केही व्यक्तिसँग राम्रो व्यक्तिगत सम्बन्ध रहेको, केही गुरु तथा शिक्षकसमेत रहेको र केहीलाई नचिनेको उल्लेख गर्दै आफूलाई जानकारी नै नभएका विषयमा बयान दिन नसक्ने जवाफ दिँदा पनि धम्की दिएर बोल्न बाध्य पारेको जनाएका छन् ।
निवेदनमा आफूलाई २०८३ असोज १४ गते नयाँदिल्ली जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका बेला अन्तिम सुरक्षा जाँचस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको उल्लेख गरेका छन् । निवेदकले असोज १६ गते बिहान करिब ८ः३० बजे आफूलाई हतकडी लगाएर दुईवटा सुटकेससहित काठमाडौंको पानीपोखरीस्थित आफ्नो निवासमा लगिएको बताएका छन् । त्यसपछि पुनः आँखामा पट्टी बाँधेर गाडीमा राखी जिल्ला प्रहरी परिसर, भद्रकाली पु¥याइएको र त्यहाँ थुनामा राखिएको निवेदनमा उल्लेख छ ।
निवेदनअनुसार आफूले बयान दिन अस्वीकार गरेपछि लामो समय जेलमा राख्ने गरी झुटा मुद्दा लगाउने र परिवारको जिउज्यानमा समेत खतरा पु¥याउने धम्की दिइएको जनाएका छन् । त्यसपछि आफूलाई केही कुरा पढ्न लगाइएको र त्यसैका आधारमा तयार पारिएको कागजमा हस्ताक्षर गर्न दबाब दिइएको इनमको दाबी छ ।
प्रहरीले घरका कोठाहरू खानतलासी गरी पुरानो ल्यापटप, पुरानो मोबाइल फोन तथा केही कागजात नियन्त्रणमा लिएको उनको भनाइ छ । तर, खानतलासीका क्रममा बरामद भएका वस्तु र रकमबारे गलत विवरण राखेर बरामदी मुचुल्का तयार गरिएको निवेदनमा उल्लेख छ । आफ्नो सुटकेसमा रहेको साइड ब्यागबाट केही विदेशी मुद्रा निकालेर बरामद भएको देखाइएको छ ।
साथै, दुई दिनअघि नै विमानस्थलबाट खोसिएको आईफोनसमेत घरबाट बरामद भएको भनी उल्लेख गर्न खोजिएको उनको दाबी छ । इनमले आफूलाई नियन्त्रणमा लिने, दबाब दिने, धम्की दिने तथा झुटा विवरण तयार गर्ने कार्यमा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगसँग माग गरेका छन् ।
यस्तो छ उजुरी :