चितवन– चितवनका ८३ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् ।
जिल्ला भूमि समस्या समाधान समितिले बिहीबार विभिन्न स्थानीय तहका परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो । गत जेठ २५ गते गठन भएको समितिले पहिलो चरणमा ८३ परिवारलाई पुर्जा उपलब्ध गराएको समितिका सदस्यसचिव श्रीधर ढुङ्गानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार इच्छाकामना गाउँपालिकाका ६६ र रत्ननगर नगरपालिका–१२ का पाँच भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलित परिवारले पुर्जा पाएका छन् । त्यस्तै, रत्ननगर–१२ का १२ अव्यवस्थित बसोबासी परिवारलाई पनि जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ ।
चितवनमा विभिन्न समयमा गठित भूमि आयोगमार्फत हालसम्म एक हजारभन्दा बढी परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरिसकेका छन् ।
समितिका अनुसार कालिका नगरपालिका–३ का २५ जनाको जग्गासम्बन्धी प्रमाणीकरण पूरा भइसकेको छ । उनीहरूको जग्गाधनी प्रमाणपुर्जा तयार गर्ने काम भइरहेको छ ।
जिल्लामा जग्गाधनी प्रमाणपुर्जा प्राप्तिका लागि ४३ हजारभन्दा बढीले आवेदन दिएका छन् ।