काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुस्थित फोहोर संकलन केन्द्रमा फोहोरबाट ऊर्जा उत्पादन गर्ने बायो–मिथेनेसन प्लान्टको परीक्षण सञ्चालन सुरु गरेको छ ।
बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पुनर्निर्मित टेकु बायो–मिथेनेसन प्लान्टको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
प्लान्टको परीक्षण सुरु भएसँगै कुहिने फोहोर व्यवस्थापन गर्नुका साथै त्यसबाट नवीकरणीय ऊर्जा र जैविक मल उत्पादन गर्ने महानगरको योजना छ । यसले फोहोरलाई स्रोतका रूपमा उपयोग गर्ने नीति कार्यान्वयनमा सहयोग पुग्ने महानगरको विश्वास छ ।
कार्यक्रममा मन्त्री श्रेष्ठले देशका ७५३ वटै स्थानीय तहलाई यस्ता परियोजना सञ्चालन गर्न आग्रह गरे । स्थानीय तहसँग समन्वय र सहकार्य भएमा यस्ता प्लान्ट निर्माण तथा सञ्चालनमा मन्त्रालय साझेदार बन्न तयार रहेको उनले बताए ।
‘एलपीजी मुक्त स्थानीय सरकार’ बनाउने अभियानअनुसार उत्पादन हुने ग्यासको उपयोगका लागि विद्यमान नीतिगत अस्पष्टता हटाउनुपर्नेमा उनले जोड दिए । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक संसद्मा दर्ता भइसकेको उल्लेख गर्दै उनले ग्यास वितरण र पाइपलाइनसम्बन्धी विषयमा संसद्मा पर्याप्त छलफल गरी आवश्यक नीतिगत व्यवस्था गर्न सकिने बताए ।
फोहोर व्यवस्थापनमा सरकारी निकायको सक्रियता मात्र पर्याप्त नहुने भन्दै उनले आम नागरिकमा जनचेतना अभिवृद्धि र नागरिक सहभागिता आवश्यक रहेको धारणा राखे ।
कार्यवाहक प्रमुख डंगोलले प्लान्टबाट उत्पादन हुने बायोग्यास वितरणका लागि स्पष्ट नीतिको अभाव रहेको बताइन् । घरघरमा सिलिन्डरमार्फत ग्यास पुर्याउने वा पाइपलाइनबाट वितरण गर्ने भन्ने विषयमा नीतिगत व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो ।
परीक्षण सञ्चालनसँगै ग्यास उत्पादन सुरु भएपछि वितरणमा अन्योल हुन सक्ने भन्दै उनले पाइपलाइनमार्फत ग्यास वितरण गर्ने सम्बन्धमा तत्काल नीति ल्याउन सरकारसँग आग्रह गरिन् ।
डंगोलले फोहोरलाई आम्दानीको स्रोत बनाउने अवधारणाअन्तर्गत ‘वेस्ट टु इनर्जी’ र ‘वेस्ट टु इकोनोमी’ कार्यक्रमलाई प्रभावकारी बनाउन छुट्टै नीति आवश्यक रहेको पनि बताइन् ।
करिब १० वर्षअघि निर्माण गरिएको टेकु बायो–मिथेनेसन प्लान्ट केही समय सञ्चालनमा आएपछि बन्द भएको थियो । काठमाडौं महानगरपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको समन्वयमा उक्त प्लान्ट पुनर्निर्माण गरी परीक्षण सञ्चालनमा ल्याएको हो ।