काठमाडौं । भोटेकोसी बाढीमा श्रीमान् गुमाएकी रसुवाकी २९ वर्षीया सुत्केरी महिलालाई सरकारले नवजात शिशुको पालनपोषणका लागि १८ वर्षसम्म मासिक १७ हजार ५०० रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ।
आमाछोदिङ्मो गाउँपालिका–५, गोल्जुङबेसीकी ती महिलाको कुमारी बैंक खातामा पहिलो महिनाको रकम जम्मा गर्दै सरकारले दीर्घकालीन स्याहार कार्यक्रम सुरु गरेको हो। मङ्सिर १० गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सिता वादी स्वयं घटनास्थल पुगेर सहायता रकम हस्तान्तरण कार्यक्रमको सुरुवात गरेकी हुन्।
भोटेकोसी बाढीमा श्रीमान् गुमाएकी ती महिला सुत्केरी अवस्थामा नवजात छोरीको पालनपोषण र भविष्यको चिन्तामा थिइन्। यस्तो अवस्थामा सरकारले परिवारमै रहेर बालिकाको पालनपोषण र शिक्षादीक्षाका लागि दीर्घकालीन आर्थिक सहयोग गर्ने व्यवस्था गरेको हो।
यो कार्यक्रम नेपाल सरकारको ‘विपद् प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना’ अन्तर्गत सञ्चालन गरिएको हो। राष्ट्रिय बाल अधिकार परिषद् र शेष घलेद्वारा सञ्चालित MITGF संस्थाको सहकार्यमा उच्च जोखिममा रहेका बालबालिका तथा गर्भवती र सुत्केरी महिलालाई लक्षित गरी विशेष सहायता प्याकेज अघि बढाइएको हो।
योजनाअनुसार विपद्का कारण बाबुआमा दुवै गुमाएका, आमाबुबामध्ये एक गुमाएका तथा स्वयं वा संरक्षक घाइते वा अपाङ्गता भई संरक्षणको जोखिममा रहेका बालबालिकालाई १८ वर्ष उमेर नपुग्दासम्म शिक्षा, स्वास्थ्य र पालनपोषणका लागि सहयोग उपलब्ध गराइनेछ।
मन्त्री वादीले बालबालिकालाई परिवारबाट अलग नगरी आफ्नै घरपरिवारमा सुरक्षित रूपमा हुर्काउने सरकारको नीति रहेको बताइन्। गोल्जुङबाट सुरु भएको कार्यक्रमअन्तर्गत प्रत्येक लक्षित बालबालिकाको व्यक्तिगत स्याहार योजना निर्माण गरी आवश्यकताअनुसार सहायता उपलब्ध गराइने उनको भनाइ छ।
राष्ट्रिय बाल अधिकार परिषद्सँग हाल MITGF मार्फत १५०, SOS Children मार्फत ६५० र प्रविना फाउन्डेसनमार्फत १० जना गरी ८१० बालबालिकाको दीर्घकालीन स्याहारमा सहयोग गर्ने प्याकेज रहेको छ। यसैगरी, मन्त्रालयको बालकोषमा सात करोड रुपैयाँ रहेको र भोटेकोसी बाढी प्रभावित बालबालिकाको सहयोगका लागि MITGF र नेपाल सरकारबीच ५८ करोड रुपैयाँ बराबरको सम्झौता भइसकेको मन्त्री वादीले जानकारी दिइन्।
बाढी प्रभावित बालबालिकाको अवस्था पहिचान तथा सहायता योजना निर्माणका लागि राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव शान्तकुमारी भण्डारीको नेतृत्वमा पाँचवटा टोली परिचालन गरिएको छ। रसुवा र नुवाकोटमा तीन तथा काठमाडौं उपत्यकामा दुई टोलीले घरदैलोमै पुगेर बालबालिकाको अवस्था अध्ययन र सहायता निर्धारण गरिरहेका छन्। यस कार्यमा युनिसेफ नेपाल, MITGF र SOS लगायतका संस्थाले सहकार्य गरिरहेका छन्।
यसैबीच, विपद्का नाममा बालबालिकालाई अनधिकृत रूपमा बालगृहमा पुर्याउने प्रवृत्ति रोक्न सरकारले पारिवारिक पुनर्मिलन अभियानसमेत सञ्चालन गरिरहेको छ। कानुनविपरीत बालगृहमा पुर्याइएका बालबालिकामध्ये हालसम्म २७ जनालाई परिवारमा पुनर्मिलन गराइएको मन्त्री वादीले बताइन्।
भदौ १० गतेको विपद्पछि सरकारले ललितपुरको ठेचोमा अस्थायी संरक्षण केन्द्र सञ्चालनमा ल्याएको छ। केन्द्रबाट आवास, खानपान, परामर्श, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग तथा पारिवारिक पुनर्मिलन सेवा प्रदान हुँदै आएको छ। हालसम्म उक्त केन्द्रबाट ४९ जना बालबालिका लाभान्वित भएका छन्। परिवार वा आफन्तको संरक्षणमा पठाउन नसकिएका नौ जना बालबालिकालाई आवश्यक लेखाजोखा र गाउँपालिकाको सिफारिसका आधारमा परिषद्मा सूचीकृत सेवा प्रदायक संस्थामा पठाइएको छ।
सरकारले बालगृहलाई अन्तिम विकल्पका रूपमा मात्रै प्रयोग गर्ने नीति लिएको छ। विपद्का कारण अभिभावक गुमाएका बालबालिकालाई परिवारमै राखेर सुरक्षित भविष्य सुनिश्चित गर्ने उद्देश्यले दीर्घकालीन स्याहार कार्यक्रम अघि बढाइएको हो।