पाँचथर– हिउँद सुरु भइसक्दा पनि निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवा खोलामा डाइभर्सन निर्माण हुन सकेको छैन । डाइभर्सन नबन्दा यस सडकखण्डमा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।
खोलामा पानीको बहाव घटेपछि तमोर करिडोरको फिदिम–मुलघाट खण्डमा यातायात नियमित भए पनि फिदिम–काबेली खण्डमा भने ठूला सवारीसाधन मात्रै सञ्चालन भइरहेका छन् । फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमामा पर्ने हेंवा खोलामा हिउँदमा समेत पानीको बहाव पर्याप्त रहेकाले साना सवारीसाधन वारपार गर्न नसक्ने अवस्था रहेको स्थानीय रामकुमार माझीले बताए ।
उनका अनुसार यस खण्डमा सडक निर्माणको जिम्मा लिएको एपेक्स निर्माण कम्पनीले तिहारपछि पुरानो डाइभर्सन रहेकै स्थानमा ठूला सवारीसाधन आवतजावत गर्न मिल्ने संरचना बनाएको छ । तर साना सवारीसाधनका लागि आवश्यक डाइभर्सन निर्माणमा भने चासो दिएको छैन ।
साना सवारीसाधन सञ्चालन हुन नसक्दा तमोर करिडोरले जोड्ने हिलिहाङ गाउँपालिकाका बासिन्दा बढी प्रभावित भएका छन् । सदरमुकाम फिदिम आवतजावत गर्न घुमाउरो बाटो प्रयोग गर्नुपर्दा दोब्बरभन्दा बढी दूरी पार गर्नुपर्ने बाध्यता रहेको स्थानीय वीरेन्द्र मङ्ग्रातीले बताए ।
“डाइभर्सन नहुँदा सदरमुकाम आवतजावत गर्न दोब्बरभन्दा बढी दूरी यात्रा गर्नुपरेको छ । आयोजना र निर्माण कम्पनीको लापरबाहीका कारण स्थानीयले सास्ती खेप्नुपरेको छ”, हिलिहाङ गाउँपालिका–५ का उनले भने ।
फिदिम नगरपालिका–४ माझीटारका व्यवसायी रमेश तामाङले सामान्य डाइभर्सन निर्माणसमेत नहुँदा यात्रुले लामो र घुमाउरो बाटो प्रयोग गर्नुपरेको बताए । सडक अवरुद्ध हुँदा माझीटार क्षेत्रको व्यापार व्यवसायसमेत प्रभावित भएको उनको भनाइ छ ।
यस वर्ष गत चैतदेखि लगातार वर्षा भएपछि खोलामा बनाइएको डाइभर्सन टिक्न सकेको थिएन । त्यसयता यातायात सेवा नियमित हुन नसक्दा स्थानीयले लामो समयदेखि समस्या भोग्दै आएका छन् । “एकातिर घुमाउरो बाटो हिँड्नुपरेको छ भने अर्कातिर माझीटार क्षेत्रको व्यापार व्यवसाय चौपट भएको छ”, तामाङले भने ।
विगतका वर्षमा डाइभर्सन मर्मत तथा पुनर्निर्माण गरेर यस क्षेत्रमा यातायात सञ्चालन गरिँदै आएको थियो । तर यस वर्ष यातायात अवरुद्ध भएको आठ महिना बितिसक्दा पनि समस्या समाधान हुन सकेको छैन । स्थानीयवासीले फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाले निर्माण कम्पनी तथा आयोजना पक्षसँग समन्वय गरी तत्काल डाइभर्सन निर्माणको काम अघि बढाउन माग गरेका छन् ।
हेंवा खोलामा तमोर करिडोर सडकअन्तर्गत पुल निर्माण हुन बाँकी छ । यहाँ रहेको बेलिब्रिज र खोलाकिनारको सडक २०८० असारमा आएको बाढीले बगाएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन गरिँदै आएको थियो । विगतमा नियमित रूपमा डाइभर्सन मर्मत तथा पुनर्निर्माण हुँदै आए पनि यस वर्ष निर्माण कम्पनीले चासो नदेखाएको र पुल निर्माणमा समेत प्रगति नभएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।