काठमाडौँ । नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले मंगलबार एसपीहरूको सरुवासम्बन्धी निर्णय गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूचीअनुसार बारामा कुमार विक्रम थापा, मोरङमा दिलीपकुमार गिरी, उदयपुरमा धर्मराज भण्डारी र तनहुँमा नरेशराज सुवेदीलाई सरुवा गरिएको छ ।
त्यस्तै, बाँकेमा नवराज मल्ल, सिन्धुपाल्चोकमा निरञ्जन दत्त भट्ट र पूर्वी नवलपरासीमा निर्मल बुढाथोकीलाई जिम्मेवारी दिइएको छ । पर्सामा यसअघि काज सरुवा भएका पवनकुमार भट्टराई र सुनसरीमा पुष्पराज मल्लको दरबन्दी कायम गरिएको छ ।
यसैगरी, बर्दियामा बालनरसिंह राणा, धादिङमा भरत लामा, कास्कीमा मोहनबहादुर खाण र कैलालीमा यादव ढकाललाई सरुवा गरिएको छ ।
पाल्पामा रबिन श्रेष्ठ, भक्तपुरमा रुकेश तण्डुकार, सप्तरीमा रूपक खड्का र दाङमा श्यामु अर्याललाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।