कास्की ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै गएको छ । फ्लाइ दुबईले सञ्चालन गर्दै आएको पोखरा–दुबई नियमित उडानमार्फत दुई महिनामा १३ हजार ४७४ यात्रुले यात्रा गरेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार गत असोज ७ देखि मङ्सिर ७ गतेसम्म फ्लाइ दुबईले दुईतर्फी १२२ उडान सञ्चालन गरेको थियो । उक्त अवधिमा दुबईबाट आठ हजार ११५ यात्रु पोखरा आएका छन् भने पोखराबाट पाँच हजार ३५९ यात्रु दुबई गएका छन् ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाइ दुबई र यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधाले पोखरा–दुबई उडानप्रति यात्रुको आकर्षण बढाएको बताए ।
उनका अनुसार पोखरामै भारतीय नागरिकलाई अनापत्ति प्रमाणपत्र (एनओसी) उपलब्ध गराउने व्यवस्था भए यस हवाई मार्गमा यात्रुको सङ्ख्या अझ बढ्न सक्छ । हाल नेपालमा रहेका भारतीय नागरिकले भारतबाहेक अन्य मुलुकमा हवाई यात्रा गर्न काठमाडौँस्थित भारतीय दूतावासबाट एनओसी लिनुपर्ने व्यवस्था छ । उक्त प्रक्रियालाई सहज बनाउन दूतावाससँग पहल भइरहेको श्रेष्ठले बताए ।
विसं २०७९ पुस १७ गते उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । फ्लाइ दुबईले नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेपछि विमानस्थलबाट अन्तर्राष्ट्रिय यात्रुको आवागमन बढ्न थालेको हो ।