काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण जतिसक्दो छिटो अघि बढाउन पुनः बोलपत्र आह्वान गर्ने तयारी गरेको छ। ठेकेदार छनोट प्रक्रिया अघि बढाउन बोलपत्रसम्बन्धी कागजात र मूल्यांकन विधि अद्यावधिक गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले आयोजनाको निर्माण शीघ्र सुरु गर्नु मन्त्रालयको प्राथमिकता रहेको बताए। उनका अनुसार चालु आर्थिक वर्षमै लागत अनुमान स्वीकृत भइसकेकाले त्यसलाई पुनः अद्यावधिक गर्नुपर्ने छैन। तर नयाँ खरिद ऐन तथा नियमावलीअनुसार मूल्यांकन पद्धति र बोलपत्रसम्बन्धी कागजात भने अद्यावधिक गर्नुपर्नेछ। यसका लागि जलस्रोत तथा सिँचाइ विभाग र आयोजना कार्यालयले काम गरिरहेका छन्।
आचार्यले सुनकोशी–मरिण आयोजना कृषि विकास र जलस्रोतको अधिकतम उपयोगका दृष्टिले महत्त्वपूर्ण रहेको बताए। तराई–मधेसमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउन पानीको स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले बढी पानी उपलब्ध हुने नदी बेसिनबाट महाभारत क्षेत्रबाट उत्पत्ति भएका नदीमा पानी स्थानान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए।
उनका अनुसार आयोजनाको सुरुङ निर्माण अपेक्षाभन्दा छिटो भए पनि अन्य संरचनाको काममा केही ढिलाइ भएको छ। अब प्रचलित ऐन तथा नियमावलीअनुसार पुनः बोलपत्र प्रक्रिया अघि बढाएर निर्माणलाई गति दिने मन्त्रालयको तयारी छ।
बोलपत्र रद्द हुँदैमा मुलुकलाई ठूलो आर्थिक नोक्सानी भएको निष्कर्ष निकाल्न नमिल्ने आचार्यको भनाइ छ। यसअघि वित्तीय प्रस्ताव नखोलिएकाले त्यसबाट परेको वास्तविक आर्थिक प्रभाव आकलन गर्न नसकिने उनले बताए। पुनः बोलपत्र आह्वान गर्दा लागत घट्न सक्ने सम्भावना रहेकाले अहिले नै आर्थिक नोक्सानीको निष्कर्षमा पुग्न नमिल्ने उनको तर्क छ।
यसअघिका ठेकेदारसँग सम्बन्धित धरौटी तथा कार्यसम्पादन जमानतमध्ये केही जफत भइसकेको र केही जफत गर्ने प्रक्रियामा रहेको पनि आचार्यले जानकारी दिए।
खरिद प्रक्रियाको निर्णय अधिकार विभागीय तहमा रहेको स्पष्ट पार्दै उनले डिजाइन, लागत अनुमान तथा खरिद स्वीकृतिसम्बन्धी प्रक्रिया विभागीय प्रमुखबाटै अघि बढ्ने बताए। त्यसका लागि मन्त्रालयको छुट्टै लिखित स्वीकृति आवश्यक नपर्ने उनको भनाइ छ।