भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले प्राङ्गारिक तथा जैविक खेती प्रवर्द्धन गर्ने उद्देश्यले किसानलाई मल खरिदमा ७५ प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ ।
कृषि उत्पादनमा रासायनिक मलको प्रयोग घटाउँदै माटोको उर्वराशक्ति संरक्षण र वातावरणमैत्री खेती प्रणालीको विकास गर्ने लक्ष्यसहित गाउँपालिकाले अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
गाउँपालिकाको कृषि विकास शाखामार्फत आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कार्यक्रमअन्तर्गत प्राङ्गारिक तथा जैविक मल खरिदमा अनुदान दिन लागिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार कार्यक्रममार्फत किसानले प्राङ्गारिक मल खरिदमा ७५ प्रतिशत अनुदान पाउनेछन् । प्राङ्गारिक खेती गर्दै आएका किसानलाई प्रोत्साहन गर्नुका साथै नयाँ किसानलाई पनि यसतर्फ आकर्षित गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको उनले बताए ।
पछिल्लो समय कृषि उत्पादनमा रासायनिक मलको प्रयोग बढ्दै गएकाले माटोको गुणस्तर कायम राख्न र खेती प्रणालीलाई दिगो बनाउन प्राङ्गारिक मलको प्रयोग बढाउन आवश्यक रहेको अध्यक्ष बस्नेतको भनाइ छ ।
कार्यक्रमबाट व्यावसायिक रूपमा प्राङ्गारिक खेती गर्दै आएका तथा खेती विस्तार गर्न चाहने किसान, कृषि फार्म, समूह र सहकारी लाभान्वित हुने अपेक्षा गरिएको छ ।
गाउँपालिकाले अनुदान कार्यक्रमलाई व्यवस्थित र पारदर्शी बनाउन स्थानीयस्तरमा सूचीकृत मल उत्पादक फार्म, समूह, सहकारी वा कम्पनीबाट मात्रै मल खरिद गर्नुपर्ने व्यवस्था गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालका अनुसार किसानले अनुदानमा मल खरिद गर्दा प्रतिकेजी १० रुपैयाँ ५० पैसाका दरले रकम जम्मा गर्नुपर्नेछ । उनका अनुसार प्राङ्गारिक मल प्रयोग गरी व्यावसायिक खेती गर्दै आएका किसानलाई कार्यक्रममा प्राथमिकता दिइनेछ ।
कार्यक्रममा सहभागी हुन इच्छुक किसान, कृषि फार्म, समूह तथा सहकारीले आवश्यक मलको प्रकार र परिमाण खुलाएर गाउँपालिकामा निवेदन पेस गर्नुपर्नेछ ।
गाउँपालिका उपाध्यक्ष रमादेवी राईले कृषि उत्पादनमा रासायनिक मलको प्रयोग घटाउँदै माटोको उर्वराशक्ति संरक्षण र प्राङ्गारिक खेतीको विस्तार गर्ने लक्ष्य राखिएको बताइन् ।
कृषिलाई उत्पादन र आयआर्जनसँग जोड्न खेती प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले प्राङ्गारिक मलको प्रयोगले गुणस्तरीय कृषि उत्पादन र वातावरणमैत्री खेती प्रणालीको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
गाउँपालिकाले कृषि क्षेत्रको विकास र किसानलाई व्यावसायिक खेतीतर्फ प्रोत्साहित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्राङ्गारिक तथा जैविक खेतीको विस्तारले माटोको उर्वराशक्ति जोगाउनुका साथै स्थानीय कृषि उत्पादनको पहिचान र प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।