पाँचथर– जिल्लाको मिक्लाजुङ गाउँपालिकाले कृषकलाई अन्नबाली उत्पादनमा प्रोत्साहन गर्न खलामै पुगेर धानको नापजाँच तथा विवरण सङ्कलन गरिरहेको छ । यसका लागि गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक यतिबेला किसानका खेत तथा खलामा पुगेर धानको उत्पादन मापन गर्न व्यस्त छन् ।
कृषकलाई बढी अन्न उत्पादन गर्न प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको हो । धान भित्र्याउने समयमा किसानले वडा कार्यालयमा दिएको पूर्वसूचनाका आधारमा पालिकाको टोली खलामै पुगेर उत्पादनको यकिन विवरण सङ्कलन गर्ने गरेको छ ।
यसैक्रममा मिक्लाजुङ–७ लिम्बाका किसान बमबहादुर बोहोराले लिम्बा दोभानस्थित आफ्ना तीनवटा खलामा धान झार्ने कार्यक्रमबारे वडा कार्यालयलाई जानकारी गराएका थिए । सोहीअनुसार धान झारेर भुस उडाएपछि वडाध्यक्ष हेमचन्द्र रेग्मी, वडा सचिव ख्यामप्रसाद चम्लागाईं र कृषि प्राविधिक रीता राईको रोहवरमा धान नापजाँच गरिएको थियो ।
नापजाँचका क्रममा बोहोराको एउटा खलामा मात्रै २५ मुरी धान उत्पादन भएको पुष्टि भयो । यस वर्ष उनले उक्त परिमाणसहित ७० मुरीभन्दा बढी धान भित्र्याएका छन् ।
गाउँपालिकाभित्र सबैभन्दा बढी धान उत्पादन गर्ने किसानमध्ये बोहोरा पर्ने भएकाले उनले प्रोत्साहन पुरस्कार पाउने सम्भावना रहेको वडाध्यक्ष रेग्मीले बताए । उनका अनुसार बोहोराले धान उत्पादनसँगै गोठे मल उत्पादनमा समेत पुरस्कार पाउने सम्भावना छ । पालिकाको प्रोत्साहन कार्यक्रमअन्तर्गत एउटै किसानले एकभन्दा बढी उत्पादनमा पनि पुरस्कार प्राप्त गर्न सक्ने व्यवस्था रहेको उनले जानकारी दिए ।
मिक्लाजुङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ देखि अन्नबाली उत्पादनसँगै प्राङ्गारिक मल उत्पादनलाई समेत प्रोत्साहन गर्न थालेको गाउँपालिकाका प्रवक्ता अविशन लावतीले बताए ।
उनका अनुसार ५० मुरीभन्दा बढी धान उत्पादन गर्ने किसानलाई ५० हजार रुपैयाँ, २० फिट लम्बाइ र चार फिट उचाइको मकैको थाङ्ग्रो राख्ने किसानलाई ३० हजार रुपैयाँ तथा ३५ मनभन्दा बढी आलु उत्पादन गर्ने किसानलाई २५ हजार रुपैयाँ पुरस्कार दिने व्यवस्था छ । त्यस्तै, १० घनमिटरभन्दा बढी प्राङ्गारिक मल उत्पादन गर्नेलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिँदै आएको छ ।
पुरस्कार प्राप्त गर्न किसानले उत्पादन भित्र्याउनुअघि नै वडा कार्यालयमा जानकारी गराउनुपर्ने व्यवस्था छ । त्यसपछि जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिकको टोलीले स्थलगत अनुगमन गरी उत्पादनको परिमाण यकिन गर्ने गरेको छ ।
निर्धारित मापदण्डअनुसार पुरस्कार वितरण गर्दा वार्षिक करिब दुई करोड रुपैयाँ खर्च हुन थालेपछि गाउँपालिकाले यस वर्ष कार्यविधिमा केही संशोधन गर्ने तयारी गरेको छ । उत्पादन वृद्धिलाई निरन्तरता दिँदै पुरस्कार वितरणलाई व्यवस्थित बनाउन मापदण्ड परिमार्जन गर्न लागिएको प्रवक्ता लावतीले बताए ।
‘उत्पादन बढाउन कार्यविधिमा सामान्य फेरबदल गर्न लागेका छौँ’, उनले भने, ‘विगतको मापदण्डभन्दा धेरै अन्तर हुँदैन । किसानले अहिले पनि राम्रो लाभ पाउनुहुन्छ ।’
गाउँपालिकाको कृषि शाखा प्रमुख दीपा राईका अनुसार यस वर्ष पनि धान, मकै र आलु उत्पादन तथा प्राङ्गारिक मल भण्डारणबारे किसानलाई पूर्वजानकारी गराइएको थियो । वडा कार्यालयमा किसानले दिएको निवेदनका आधारमा अहिले उत्पादनको नापजाँच भइरहेको उनले बताइन् ।
कोभिड–१९ महामारीपछि ग्रामीण क्षेत्रलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले कृषक प्रोत्साहन कार्यक्रमलाई थप प्रभावकारी बनाएको हो । सुरुमा ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने र चार फिट उचाइ तथा २० फिट लम्बाइको मकैको थाङ्ग्रो राख्ने किसानलाई एक लाख रुपैयाँसम्म पुरस्कार दिने व्यवस्था गरिएको थियो । त्यस्तै, ३५ मनभन्दा बढी आलु उत्पादन गर्ने किसानलाई प्रतिकिलो २० रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने गरिएको थियो । लाभग्राहीको सङ्ख्या बढेपछि भने पुरस्कार रकम परिमार्जन गरिएको हो ।
गत वर्ष गाउँपालिकाले कृषक प्रोत्साहन कार्यक्रममार्फत ५८६ जना किसानलाई कुल एक करोड ८५ लाख ६५ हजार रुपैयाँ वितरण गरेको थियो ।
प्रवक्ता लावतीका अनुसार धान उत्पादन गर्ने १०७ जना किसानलाई ५३ लाख ५० हजार रुपैयाँ, मकै उत्पादन गर्ने २४८ जनालाई ७४ लाख ४० हजार रुपैयाँ, आलु उत्पादन गर्ने ६७ जनालाई १६ लाख ७५ हजार रुपैयाँ र प्राङ्गारिक मल उत्पादन गर्ने १६४ जनालाई ४१ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
प्रोत्साहन रकम पाउने किसानको सङ्ख्या वर्षेनि बढ्दै गएको र त्यससँगै अन्नबाली उत्पादनमा समेत वृद्धि भइरहेको प्रवक्ता लावतीको भनाइ छ ।
पाँचथरकै फाल्गुनन्द गाउँपालिकाले पनि कृषकलाई धान उत्पादनमा प्रोत्साहन गर्दै आएको छ । उक्त गाउँपालिकाले ५० मुरीभन्दा बढी धान उत्पादन गर्ने किसानलाई ३० हजार रुपैयाँ र १०० मुरीभन्दा बढी उत्पादन गर्ने किसानलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने गरेको छ ।
जिल्लाका मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिका बढी अन्नबाली उत्पादन हुने क्षेत्रका रूपमा परिचित छन् । यी पालिकामा तुलनात्मक रूपमा सिँचाइको सुविधा पनि राम्रो रहेकाले कृषि उत्पादन वृद्धिमा सहयोग पुगेको छ ।