कर्णाली– यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको विवरणअनुसार अधिकांश खेल सुर्खेतमा सञ्चालन हुनेछन् । एथ्लेटिक्स, महिला तथा पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपकताक्रो, हक्की, भलिबल र कबड्डी सुर्खेतमा आयोजना गरिनेछ ।
त्यसैगरी कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारोत्तोलन, साइक्लिङ र इस्पोर्टस् पनि सुर्खेतकै विभिन्न स्थानमा सञ्चालन हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताले जानकारी दिए ।
उनका अनुसार टेनिस, महिला तथा पुरुष खो–खो बर्दियामा तथा पौडी र सुटिङ नेपालगञ्जमा सञ्चालन हुनेछ । त्यस्तै, जुडो र कुस्ती सल्यान, आईटीएफ तेक्वान्दो दैलेख, महिला तथा पुरुष फुटबलको सेमिफाइनल र फाइनल जुम्ला, बुद्धिचाल कालीकोट तथा शारीरिक सुगठन पश्चिम रुकुममा आयोजना गरिनेछ ।
प्रतियोगिताअन्तर्गत सुर्खेतमा २२, बाँके र बर्दियामा दुई–दुई तथा सल्यान, जुम्ला, कालीकोट, दैलेख र रुकुमपश्चिममा एक–एक खेल सञ्चालन हुनेछन् ।
केही खेल मङ्सिर ८ गतेदेखि नै सुरु हुने भए पनि प्रतियोगिताको औपचारिक उद्घाटन भने मङ्सिर १६ गते गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा छ हजार खेलाडी र तीन हजार अफिसियल गरी करिब नौ हजार जनाको सहभागिता रहनेछ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन आयोजक मूल समारोह समितिसहित १४ वटा विभिन्न समिति गठन गरिएको छ ।
रासस