सुर्खेत । बहुप्रतीक्षित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा विभिन्न सरोकारवाला निकाय सक्रिय भएका छन्।
प्रतियोगिताको मुख्य केन्द्रका रूपमा कर्णाली प्रदेश रङ्गशालालाई तयार पारिएको छ। प्रतियोगिता सफल बनाउन कर्णाली प्रदेश सरकार व्यवस्थापनको काममा जुटेको छ। मुख्यमन्त्री मङ्गलबहादुर शाही स्वयं विभिन्न बैठक, छलफल तथा तयारीका गतिविधिमा सहभागी भइरहेका छन्।
प्रतियोगिताको मिति नजिकिएसँगै सुर्खेतमा खेलाडी, प्रशिक्षक, अफिसियल, अतिथि तथा दर्शकको स्वागतका लागि विभिन्न स्थानमा स्वागतद्वार निर्माण गर्न थालिएको छ। वीरेन्द्रनगरका बजार क्षेत्रमा प्रतियोगिताको प्रचारप्रसारका लागि माइकिङसमेत भइरहेको छ।
घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता दशौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मङ्सिर १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ। यद्यपि, प्रतियोगिताअन्तर्गतका मुख्य खेलहरू मङ्सिर ८ गतेदेखि नै सुरु हुनेछन्। प्रतियोगिताको समापन मङ्सिर २७ गते सुर्खेतमा हुनेछ।
प्रतियोगिता नजिकिएसँगै विदेशमा रहेका खेलाडीसमेत स्वदेश फर्कन थालेका छन्। केही खेलाडी बन्द प्रशिक्षणमा जुटिसकेका छन्। यस संस्करणमा ३२ खेलका ३८४ इभेन्ट्स समावेश गरिएको छ। प्रतियोगिताका खेल कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लामा सञ्चालन हुनेछन्।
सुर्खेतमा मात्रै २३ खेल आयोजना हुनेछन्। त्यस्तै, बाँके, बर्दिया र सल्यानमा दुई–दुई तथा दैलेख, कालीकोट र पश्चिम रुकुममा एक–एक खेल सञ्चालन हुनेछन्।
मुख्यमन्त्री शाहीले प्रतियोगिताका लागि आवश्यक खेल पूर्वाधार निर्माण सम्पन्न भइसकेको र खेलस्थलहरू तयारी अवस्थामा रहेको बताएका छन्। सामान्य मर्मतसम्भारबाहेक अधिकांश खेलस्थल तयार रहेको उल्लेख गर्दै उनले आवश्यक खेल सामग्रीसमेत आउने क्रम जारी रहेको जानकारी दिए।
प्रतियोगितालाई सुरक्षित बनाउन मुख्यमन्त्रीको अध्यक्षतामा सुरक्षा अधिकारीहरूको बैठकसमेत बसेको छ। बैठकले सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने र सीसीटीभी क्यामेरामार्फत निगरानी गर्ने निर्णय गरेको छ। प्रतियोगिताको सुरक्षाका लागि दुई हजार सुरक्षाकर्मी परिचालन गरिनेछ।
प्रतियोगितास्थल, मुख्य चोक तथा नगरका विभिन्न क्षेत्रमा २०० भन्दा बढी सीसीटीभी क्यामेरा जडान गरिएको छ। सहभागी खेलाडी, प्रशिक्षक, अतिथि तथा दर्शकलाई आवासको समस्या हुन नदिन होटलहरूमा पर्याप्त कोठाको व्यवस्था मिलाइएको छ।
प्रतियोगिताको व्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषद्को टोली नै सुर्खेतमा खटिएको छ। विभिन्न उपसमिति गठन गरेर तयारीका कामलाई तीव्रता दिइएको दशौँ राष्ट्रिय खेलकुद प्रचारप्रसार उपसमितिकी संयोजक मोनालिसा खम्बुले जानकारी दिइन्।
यसअघि पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ सालमा काठमाडौंमा आयोजना भएको थियो। त्यसपछि २०४० मा पोखरा, २०४२ मा वीरगन्ज, २०५५ मा नेपालगन्ज, २०६५ मा काठमाडौं, २०६८ मा सुदूरपश्चिम, २०७३ मा पूर्वाञ्चल र २०७५/७६ मा लुम्बिनीमा आठौँ तथा २०७९ सालमा गण्डकी प्रदेशको पोखरामा नवौँ राष्ट्रिय खेलकुद सम्पन्न भएको थियो।
एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा
दशौँ राष्ट्रिय खेलकुदमा कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ। राष्ट्रिय खेलकुद परिषद्का अनुसार प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य पदक समावेश छन्।
औपचारिक उद्घाटनअघि नै १० खेल सञ्चालन हुने प्रचारप्रसार उपसमिति संयोजक खम्बुले जानकारी दिइन्।
प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ।
प्रत्येक टोलीबाट ३९४ महिला र ३४६ पुरुष गरी कुल ७४० खेलाडी सहभागी हुनेछन्। त्यस्तै, प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक रहनेछन्।
प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ। व्यक्तिगत स्पर्धामा स्वर्ण पदक विजेताले २० हजार, रजत विजेताले १५ हजार र कास्य पदक विजेताले आठ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
त्यस्तै, टोली स्पर्धामा स्वर्ण पदक जित्नेले १५ हजार, रजतले १० हजार र कास्य विजेताले आठ हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगिता सञ्चालनका लागि २५८ अन्तर्राष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायक परिचालन हुनेछन्। यसबाहेक ३४९ स्थानीय सहयोगी तथा विभिन्न खेल सङ्घका ९६ प्रतिनिधि पनि प्रतियोगितामा खटिने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।
लुम्बिनीमा चार खेल आयोजना हुने
दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत लुम्बिनी प्रदेशमा चार खेल सञ्चालन हुनेछन्। बाँकेमा पौडी र सुटिङ तथा बर्दियामा खोखो र टेनिस प्रतियोगिता आयोजना गरिनेछ।
ती खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार मर्मत तथा व्यवस्थापनको काम सम्पन्न भइसकेको साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए।
उनका अनुसार नेपालगन्ज रङ्गशालास्थित पौडी पोखरीमा पौडी र सुटिङ प्रतियोगिता सञ्चालन हुनेछ। त्यस्तै, बर्दियाको ठाकुरबाबा नगरपालिका–भूरीगाउँस्थित कभर्ड हलमा खोखो तथा गुलरियास्थित कभर्ड हलमा टेनिस खेल आयोजना गरिनेछ।
मङ्सिर २७ गते सुर्खेतमा समापन हुने दशौँ राष्ट्रिय खेलकुदले कर्णाली प्रदेशको खेलकुद विकास, पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधिमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।