रसुवा । रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड पछिल्लो समय बाह्रै महिना पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । विगतमा विशेष धार्मिक पर्व तथा मेलाका अवसरमा मात्रै भक्तजन र पदयात्रीको चहलपहल हुने यस क्षेत्रमा अहिले वर्षभरि नै आन्तरिक तथा विदेशी पर्यटक पुग्न थालेका छन् ।
समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्ड प्राकृतिक सुन्दरता, धार्मिक आस्था र ऐतिहासिक महत्वका कारण पर्यटकको रोजाइमा पर्न थालेको हो ।
सडक सञ्जालको विस्तार तथा पदमार्गमा होटल र लजको सुविधा थपिँदै गएपछि यहाँको यात्रा सहज बनेको स्थानीय व्यवसायी बताउँछन् । काठमाडौँबाट सवारीसाधनमा रसुवा सदरमुकाम धुन्चेसम्म पुग्न सकिने र त्यहाँबाट करिब दुई दिनको पैदलयात्रापछि गोसाइँकुण्ड पुग्न सकिने सुविधा छ । काठमाडौँको सुन्दरीजल तथा नुवाकोटको समुद्रटार हुँदै जाने वैकल्पिक पदमार्गसमेत सञ्चालनमा छन् ।
पदमार्गमा खानेबस्ने सुविधा विस्तार भएपछि बाह्रै महिना पर्यटक आउन थालेको खेन्दीकी होटल व्यवसायी सृजना घलेले बताइन् । उनका अनुसार पहिले विशेष मेलापर्वमा मात्रै पर्यटकको चहलपहल हुने गरेकामा अहिले वर्षभरि नै आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने गरेको छ ।
धुन्चेका होटल व्यवसायी विशाल घलेका अनुसार सामान्य अवस्थामा दैनिक करिब एक सय पर्यटक यस क्षेत्रमा आउने गरेका छन् । केही दिन पर्यटकको सङ्ख्या अझ बढ्ने गरेको छ । गत भदौ १० गतेको बाढीले सडक तथा भौतिक संरचनामा क्षति पुर्याउँदा केही समय पर्यटन आगमन प्रभावित भए पनि अहिले जनजीवनसँगै पर्यटन व्यवसायसमेत पुरानै लयमा फर्किन थालेको उनले बताए ।
मिनी गोसाइँकुण्डमा होटल सञ्चालन गर्दै आएकी सीता देवकोटाले पनि बाढीका कारण केही समय व्यवसाय प्रभावित भए पनि पछिल्लो समय पर्यटकको आगमन सामान्य बन्दै गएको बताइन् । उनका अनुसार यात्राका क्रममा धैबुङको दहीचिउरा, धुन्चेको बसाइ तथा चन्दनबारीको प्राकृतिक सौन्दर्यले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ ।
गोसाइँकुण्ड धार्मिक दृष्टिकोणले पनि विशेष महत्व बोकेको तीर्थस्थल हो । धार्मिक मान्यताअनुसार संसारभरका देवीदेवताको बास गोसाइँकुण्डमा हुने भएकाले यहाँ स्नान गर्दा सम्पूर्ण देवीदेवताको दर्शन प्राप्त हुने विश्वास रहेको स्थानीय समाजसेवी दावाफिन्जो तामाङ बताउँछन् ।
पौराणिक कथनअनुसार समुद्रमन्थनबाट उत्पन्न कालकूट विष सेवन गरेपछि भएको जलन शान्त पार्न भगवान् शिवले त्रिशूलले जमिनमा प्रहार गरी निस्किएको जल पिएको र सोही स्थानमा शयन गरेको विश्वास गरिन्छ । त्रिशूलबाट निस्किएको जलबाट गोसाइँकुण्ड बनेको धार्मिक मान्यता छ ।
कुण्डमा स्नान गर्दा रोगव्याधि हट्ने तथा परिवारमा सुखशान्ति प्राप्त हुने विश्वासका साथ श्रद्धालुहरू नीलाद्री पर्वत पुगेर भगवान् शिवको पूजाआराधना गर्ने र वरदान माग्ने परम्परा रहेको स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताए ।
गोसाइँकुण्डको ऐतिहासिक महत्व पनि उत्तिकै छ । नेपाल–अङ्ग्रेज युद्धपछि भएको सुगौली सन्धिबाट नेपालको हित हुन नसकेको पीडामा राष्ट्रिय विभूति अमरसिंह थापाले गोसाइँस्थानमा देहत्याग गरेको इतिहास रहेको पुरोहित ढकालले बताए । उनका अनुसार थापाले कुण्डको दक्षिणतर्फ रहेको भिरको गुफामा आफ्नो अन्तिम समय बिताएका थिए ।
हरेक वर्ष १० हजारभन्दा बढी भक्तजन तथा पदयात्रीले गोसाइँकुण्ड क्षेत्रको भ्रमण गर्ने गरेका छन् । धार्मिक आस्थाका साथ यात्रा गर्ने श्रद्धालुहरूले घरबाट प्रस्थान गर्नुअघि कुलदेवताको बिदा माग्ने, वेत्रावती नदीमा केश मुण्डन गर्ने तथा गङ्गापूजा गर्ने परम्परा छ । यात्राका क्रममा ‘ॐ नमः शिवाय’ जप्दै सुलाद्री पर्वत (लौरीविनायक) आरोहण गरी लौरी चढाउने प्रचलनसमेत कायम छ ।
वर्षभरि पदयात्रा गर्न सकिने भए पनि गोसाइँकुण्ड यात्रा जोखिममुक्त भने छैन । विशेषगरी लौरीविनायकभन्दा माथिल्लो क्षेत्रमा वनस्पति कम हुनुका साथै अक्सिजनको मात्रा घट्दै जाने भएकाले लेक लाग्ने सम्भावना रहन्छ । त्यसैले यात्राका क्रममा पर्याप्त पानी पिउन, आवश्यक औषधि साथमा राख्न र स्वास्थ्य अवस्थाबारे सचेत रहन स्थानीयवासीले सुझाव दिने गरेका छन् ।
धार्मिक आस्था, ऐतिहासिक विरासत र अनुपम प्राकृतिक सौन्दर्यको सङ्गम बनेको गोसाइँकुण्ड पछिल्लो समय नेपालको महत्वपूर्ण पदयात्रा तथा पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।
रासस