काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाएका छन् । उनले आतङ्क, आगजनी र तोडफोडबाट सरकार गठनको प्रक्रिया सुरु भएको दाबी गरे ।
एमालेको जनवर्गीय संगठन नेशनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए । पूर्वप्रधानन्यायाधीशसमेत रहेका व्यक्तिको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको भन्दै उनले त्यसलाई संविधानमाथिको प्रहारका रूपमा व्याख्या गरे ।
उनले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परे पनि अदालतले समयमै फैसला नगरेको भन्दै असन्तुष्टि जनाए । ‘डरपोक राष्ट्रपतिले असंवैधानिक ढंगले संसद् विघटन गरेर बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो,’ ओलीले भने ।
उनले संविधान र लोकतन्त्रको संरक्षण गर्ने जिम्मेवारी राज्यका निकायले पूरा नगरेको आरोप लगाए । लोकतान्त्रिक संस्थाहरू कमजोर पारिएको र ती संस्थाले त्यसको प्रतिवाद गर्न नसकेको उनको भनाइ थियो ।
राज्यका निकायहरू आदेशका भरमा नभई कानुनअनुसार सञ्चालन हुनुपर्ने उल्लेख गर्दै ओलीले देशलाई संवैधानिक र लोकतान्त्रिक विधिअनुसार अघि बढाउन युवाहरू संगठित भएर दबाब दिनुपर्ने बताए ।