पर्सा । प्रहरीले कात्तिक महिनामा पर्सा जिल्लाबाट भन्सार छली गरी ल्याइएका ७० लाख ७० हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ। भन्सार छली तथा राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत उक्त सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रण गर्ने क्रममा बालुवा, ढुङ्गा तथा गिट्टी ओसारपसारमा प्रयोग गरिएका १० वटा ट्र्याक्टर नियन्त्रणमा लिइएको छ। ती ट्र्याक्टरलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
त्यस्तै, अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत ६ हजार २६३ लिटर तयारी मदिरा र ६ हजार ३८० लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरिएको छ। उक्त अभियानका क्रममा ११ जना पक्राउ परेका छन्।
अवैध वन पैदावार नियन्त्रणतर्फ १० वटा सवारीसाधन नियन्त्रणमा लिएर ३९ क्युबिक काठ बरामद गरिएको प्रहरीले जनाएको छ। यसबाट एक लाख ९५ हजार रुपैयाँ राजस्व तथा जरिवाना सङ्कलन भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।
यसैगरी, कात्तिक महिनामा पर्सा जिल्लामा ३७ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
ट्राफिक नियम उल्लङ्घन गर्ने ९४१ वटा सवारीसाधनका चालकलाई कारबाही गरी प्रहरीले १० लाख ८७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।