मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकाका तीनवटा वडा जोड्ने कालीगण्डकी नदीमाथिको लेते–धम्पु मोटरेबल पुल निर्माण सात वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । निर्माणमा चरम ढिलासुस्ती हुँदा पुलको काम पछिल्लो १० महिनादेखि अलपत्र परेको छ ।
गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत निर्माण भइरहेको उक्त पुलले थासाङ गाउँपालिकाका वडा नं २, ३ र ५ लाई जोड्नेछ । पुल निर्माण सम्पन्न भएपछि बेनी–जोमसोम सडकसँगै कालीगण्डकी नदीपारिका धम्पु, सिर्खुम, सौरु, टिटी, कुञ्जो र ताक्लुङलगायत गाउँ ग्रामीण सडक सञ्जालमा जोडिनेछन् ।
पुल निर्माणका लागि २०७६ फागुन २९ गते देव एण्ड सायर कन्स्ट्रक्सनसँग पाँच करोड पाँच लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तर, पाँचपटक म्याद थप गरिसक्दा पनि निर्माण कार्यले पूर्णता पाउन सकेको छैन ।
पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख रविन चोख्यालका अनुसार सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२० (क) को उपनियम ३ बमोजिम पुल निर्माणको पछिल्लो म्याद चालु आर्थिक वर्षको असार मसान्तसम्म थप गरिएको छ । हालसम्म पुलको भौतिक प्रगति ७७ प्रतिशत र वित्तीय प्रगति ७४ प्रतिशत पुगेको उनले बताए ।
कालीगण्डकी नदीमाथि निर्माणाधीन पुल ३५ मिटर लामो र फुटपाथसहित ८ दशमलव ४ मिटर चौडा छ । ठेक्का लिएको निर्माण कम्पनीले पेटी ठेकेदारमार्फत काम गराउँदै आएको छ । निर्माण कार्य अघि बढाउन पटकपटक ताकेता गर्दा पनि पेटी ठेकेदारका प्रतिनिधिले बेवास्ता गरेपछि काम रोकिएको कार्यालय प्रमुख चोख्यालले बताए ।
उनका अनुसार निर्माण कम्पनीका प्रतिनिधि र सरोकारवालालाई सहभागी गराएर काम सम्पन्न गर्ने प्रतिबद्धता सुनिश्चित गर्न बैठक बोलाउने तयारी भइरहेको छ ।
पुलका दुवैतर्फका एबुटमेन्टको क्याप लेभलसम्मको काम सम्पन्न भइसकेको छ । अब स्ल्याब ढलान, एप्रोच सडक, अन्य संरचनात्मक काम, फिनिसिङ तथा सहायक कार्य पूरा गर्न बाँकी छ । यी काम सम्पन्न भएपछि पुल सञ्चालनयोग्य बनाएर हस्तान्तरण गरिने कार्यालयले जनाएको छ ।
यसैबीच, कालीगण्डकी नदीपारिका गाउँलाई जोड्ने कालोपत्र सडक निर्माण भने सङ्घीय सरकारअन्तर्गत डिभिजन सडक कार्यालय बागलुङमार्फत सम्पन्न भइसकेको छ ।
स्थानीय नवीन शेरचनले पुल निर्माणमा भइरहेको ढिलाइलाई दुर्भाग्यपूर्ण बताएका छन् । निर्माण कम्पनीले समयमै तदारुकता देखाएको भए चार वर्षअघि नै पुल बनिसक्ने उनको भनाइ छ ।
पुल निर्माण सम्पन्न भएमा थासाङ गाउँपालिकाका तीनवटा वडाका बासिन्दालाई मुख्य राजमार्गसम्म आवतजावत गर्न सहज हुनेछ । साथै, स्थानीय कृषि उपजको बजारीकरण, विकास निर्माणका गतिविधि र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।