चन्दा क्षेत्री/काठमाडौं । चितवन राइनोजका टिम मेन्टर मनिष सखालकरले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा टोलीले दोस्रो क्वालिफायरसम्म गरेको यात्रालाई उपलब्धिका रूपमा लिएका छन् । फाइनल पुग्न नसक्दा निराशा भए पनि खेलाडीले देखाएको मेहनत र संघर्ष प्रशंसनीय रहेको उनको भनाइ छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग तीन विकेटले पराजित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सखालकरले उपाधि जित्ने लक्ष्य पूरा नभए पनि टोलीको समग्र प्रदर्शनलाई निराशाजनक मान्न नहुने बताए ।
‘यहाँसम्म आउनु पनि राम्रै उपलब्धि हो,’ उनले भने, ‘फाइनल पुगेर उपाधि जित्न सकेको भए हाम्रो उपलब्धि अझ सुन्दर हुने थियो ।’
चितवनले दिएको १३४ रनको लक्ष्य रक्षा गर्न नसके पनि बलरहरूले अन्तिमसम्म जितको सम्भावना कायम राखेको उनको विश्लेषण थियो । खेलको सुरुआती १० ओभरसम्म दुवै टोली लगभग समान अवस्थामा रहेको उल्लेख गर्दै उनले त्यसपछिका ओभरमा खर्चिएको रनले खेल सुदूरपश्चिमतर्फ मोडिएको बताए । सानो योगफल रक्षा गर्दा रनभन्दा विकेट लिनु महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।
सखालकरले प्रतियोगिताभर चितवनको बलिङलाई टोलीको सबैभन्दा बलियो पक्षका रूपमा व्याख्या गरे । विशेषगरी रञ्जित कुमार र कमलसिंह ऐरीको प्रदर्शनको प्रशंसा गर्दै उनले दुवैले राम्रो तालमेलमा बलिङ गरेको बताए । रञ्जितको प्रदर्शन तथ्यांकबाटै स्पष्ट हुने उल्लेख गर्दै उनले कमलले पनि निरन्तर प्रभावशाली प्रदर्शन गरेको बताए ।
ब्याटिङमा भने टोलीले अपेक्षित सुरुआत गर्न नसकेको उनको विश्लेषण थियो । पावरप्लेमा तीन विकेट गुमाउँदा दबाब बढेको र त्यसपछि ब्याटरले सम्हालिएर खेल्नुपर्दा ठूलो योगफल बनाउन कठिन भएको उनले बताए ।
डेविड मलानले अविजित ७१ रन बनाए पनि उनलाई अर्को ब्याटरले लामो समय साथ दिन नसकेको सखालकरले उल्लेख गरे । मलानलाई अर्को ब्याटरले अन्तिमसम्म साथ दिएको भए चितवनले १५० देखि १६० रनसम्म बनाउन सक्ने उनको आकलन थियो । त्यस्तो योगफल बनाउन सकेको भए खेलको परिस्थिति फरक हुन सक्ने उनले बताए ।
प्रतियोगितामा चितवनले जित्न सक्ने केही खेलसमेत गुमाएको उनले स्वीकार गरे । साँझका खेलमा प्रकाश र शीतका कारण क्याच छुट्ने समस्या अन्य टोलीमा पनि देखिएको उल्लेख गर्दै उनले त्यसलाई चितवनको मात्र कमजोरीका रूपमा लिन नहुने बताए ।
युवा बलरहरू सिक्न उत्सुक रहेकाले उनीहरूसँग काम गर्न सहज भएको सखालकरले बताए । खेलाडीको सिक्ने चाहना नै प्रशिक्षणका क्रममा आफूले पाएको सबैभन्दा सकारात्मक पक्ष रहेको उनको भनाइ थियो ।
दोस्रो क्वालिफायरमा पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३३ रन बनाएको थियो । चितवनका लागि डेविड मलानले ५१ बलमा नौ चौका र दुई छक्कासहित अविजित ७१ रन बनाए ।
१३४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.५ ओभरमा सात विकेट गुमाएर जित निकालेको थियो । सुदूरपश्चिमका लागि थरिन्दु रत्नायकेले ४२ बलमा सात चौकासहित अविजित ५३ रन बनाए । उनले बलिङमा पनि दुई विकेट लिएका थिए ।
यस जितसँगै सुदूरपश्चिम लगातार तेस्रोपटक एनपिएलको फाइनलमा पुगेको छ । चितवनको तेस्रो संस्करणको यात्रा भने दोस्रो क्वालिफायरमै समाप्त भएको छ ।