काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले आगामी स्थानीय तह निर्वाचनमा पार्टी पुनः पहिलो राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् । राष्ट्रिय भेलाबाट फर्किएपछि पार्टीभित्रको निराशा चिर्दै निर्वाचनको तयारीमा जुट्ने उनले बताएका छन् ।
एमालेको राष्ट्रिय भेलाका क्रममा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै महरले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया तल्लो तहबाटै अघि बढाउने जानकारी दिए । उनका अनुसार सम्बन्धित पालिकाको उम्मेदवार पालिका तहबाट र वडाको उम्मेदवार वडा तहबाटै छनोट गरिनेछ । स्थानीय आवश्यकताअनुसारका एजेन्डासमेत तय गरेर अघि बढ्ने उनको भनाइ छ ।
स्थानीय तहमा विगतमा एमालेले गरेका विकास निर्माण र सेवा प्रवाहका कामका आधारमा जनताले पार्टीलाई पुनः विश्वास गर्ने महरले दाबी गरे । संघीयतालाई मजबुत बनाउन पनि आगामी निर्वाचनमा एमालेले विजय हासिल गर्नुपर्ने उनले बताए ।
महरले राष्ट्रिय भेलाले पार्टीभित्र राजनीतिक बुझाइमा एकरूपता कायम गर्न सहयोग गरेको उल्लेख गर्दै भेलाबाट फर्किएपछि सरकारका गतिविधिबारे जनतामाझ जाने बताए । प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूले राज्यका संवैधानिक तथा कानुनी निकायमाथि हस्तक्षेप गरिरहेको आरोप लगाउँदै उनले वर्तमान सरकार विचौलियाबाट सञ्चालित भइरहेको दाबीसमेत गरे ।
मन्त्रालयको संख्या घटाउने तर प्रधानमन्त्रीको सचिवालय विस्तार गर्ने सरकारी कार्यशैलीमाथि प्रश्न उठाउँदै उनले संविधान र कानुनले नचिन्ने व्यक्तिहरूले राज्य सञ्चालनमा हस्तक्षेप गरिरहेको आरोप लगाए ।