काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा निर्वाचनमा पराजित हुँदैमा निराश र हतोत्साही नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन् । उनले निर्वाचनको हारलाई अस्थायी धक्काका रूपमा लिएर कमजोरी सच्याउँदै अघि बढ्नुपर्ने बताएकी छन् ।
बिहीबार काठमाडौंमा आयोजित एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै भण्डारीले गत वर्ष भदौ २३ र २४ गतेका घटनाक्रम तथा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले पार्टीका नेता तथा कार्यकर्तामा निराशा उत्पन्न गरेको हुन सक्ने बताइन् । तर विगतका संघर्ष र सफलताबाट प्रेरणा लिएर वर्तमान चुनौतीको सामना गर्नुपर्ने उनको भनाइ थियो ।
पञ्चायती व्यवस्थाको दमन, विश्व कम्युनिस्ट आन्दोलनले भोगेको संकट र मदन–आश्रितको रहस्यमय हत्यापछिको कठिन परिस्थितिमा समेत एमालेले आफ्नो राजनीतिक यात्रा अघि बढाएको स्मरण गर्दै उनले अहिलेको निर्वाचन परिणामबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको बताइन् ।
‘एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन । तर हारबाट सही पाठ सिक्नु र कमजोरीहरू सच्याउँदै अघि बढ्नु हाम्रो दायित्व हो,’ उनले भनिन् ।
भण्डारीले पार्टीलाई थप सुदृढ, एकताबद्ध र गतिशील बनाउन नेता तथा कार्यकर्ताबीच जिम्मेवारीको व्यावहारिक बाँडफाँट, योगदान र क्षमताको उचित मूल्याङ्कन तथा पार्टीका सबै तहबीच साझा उद्देश्य निर्माण गर्नुपर्नेमा जोड दिइन् । निर्वाचनको समीक्षाबाट प्राप्त निष्कर्ष नेतृत्वदेखि कार्यकर्तासम्म सबैले इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।
उनले कार्यकर्तालाई निराश नभई सक्रियता, पहलकदमी र आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरिन् । राजनीतिमा थकाइ र विश्राम नहुने उल्लेख गर्दै भण्डारीले आफू कुनै पद प्राप्तिका लागि नभई कम्युनिस्ट आन्दोलन र एमालेलाई बलियो राजनीतिक शक्तिका रूपमा विकास गर्न सक्रिय राजनीतिमा फर्किएको बताइन् ।